arrow

काभ्रेलाञ्चोकमा रेबिज संक्रमण नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
rabies-vaccine.jpeg

काभ्रेपलाञ्चोक ।  काभ्रेलाञ्चोकमा पछिल्ला केही महिनादेखि पशुचौपायामा देखिएको रेबिज रोगको संक्रमण नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा रेबिजविरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको हो ।  

गत मङ्सिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको संक्रमण नियन्त्रणमा आएका बेला काभ्रेपलाञ्चोकको अर्को स्थानीय तह मण्डनदेउपुरको एक वडामा संक्रमण देखिएको थियो । केही हप्ताअघि मण्डनदेउपुर नगरपालिका-१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएपछि त्यस क्षेत्रका पशुचौपायालाई खोप लगाइएको केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईँले बताए । उनका अनुसार हाल उक्त नगरमा रेबिजको संक्रमण नियन्त्रणमा आएको छ ।

मण्डनदेउपुर नगरकै केही स्थानमा बितेको दुई महिनाको अवधिमा २२ गाई मरेका थिए । यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ३० व्यक्तिलाई रेबिजविरुद्धको खोप लगाइएको छ । थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताए । उक्त स्थानमा स्थानीयस्तरका स्वास्थ्य शाखा र पशु शाखा जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रको विज्ञ टोलीसहितले निगरानी गरिरहेका  छन् ।
 
यसैगरी जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिजका कारण पशुचौपाया मरेपछि करिब एक सय स्थानीयवासीलाई रेबिजविरुद्ध खोप लगाइएको छ । महाभारतका दुई गाउँमा गाई, खसी-बोकालगायत १६ पशुचौपाया मरेका थिए । कुकुरले टोकेर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको १ नं वडाको गोकुले र ८ नं वडास्थित घर्तीछापका एक सय स्थानीयवासीलाई रेबिजविरुद्धको खोप लगाइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिनुभयो । मासु खाएका थप स्थानीयवासीको खोजी भइरहेको छ । डेढ सय पशुचौपायालाई रेबिजविरुद्धको खोप दिइएको छ । 

रेबिज संक्रण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले महाभारत र मण्डनदेउपुरमा अध्ययन भइरहेको बताए । “खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्णरूपमा सुरक्षित भइन्छ”, उनले भने । चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ