arrow

धादिङ-पोखरा सम्पर्क समाजद्वारा पोखरा वृद्धाश्रममा सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
Dhading Samaj Help.jpg

पोखरा । धादिङ-पोखरा सम्पर्क समाजले बुधबार पोखरा वृद्धाश्रममा आर्थिक सहयोग गरेको छ ।

समाजको १२ औं अधिवेशनबाट निर्वाचित रामप्रसाद पाण्डे राजु नेतृत्वको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेलगत्तै पोखरा महानगरपालिका वडा नं. १७ सीतापाइलास्थित वृद्धाश्रममा पुगेर आर्थिक सहयोग गरेको हो । 

सहयोग रकम ११ हजार ८१५ रुपैयाँ नगद रहेको छ । समाजका अध्यक्ष पाण्डेले वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा वृद्धाश्रमका अध्यक्ष पराजुलीले धादिङ समाजले सामाजिक क्षेत्रमा खेलेको भूमिका निकै प्रशंसनीय रहेको बताए । साथै उनले समाजले विगतमा पनि वृद्धाश्रममा आएर सहयोग गरेको स्मरण गर्दै अहिले गरिएको आर्थिक सहयोग निकै महत्वपूर्ण हुने स्पष्ट पारे । 

समाजका अध्यक्ष पाण्डेले समाजले स्थापनाकालदेखि नै थुप्रै सामाजिक कार्य गर्दै आइरहेको स्पष्ट पार्दै आफ्नो कार्यकालको शुरुआत मानवीय सेवाबाट गर्न खोजिएको बताए । उनले वृद्धाश्रमका लागि आगामी दिनमा पनि के कस्तो सहयोग गर्न सकिन्छ त्यस विषयमा ध्यान दिने बताए । 

त्यसअघि समाजमा निवर्तमान अध्यक्ष गोकर्ण लम्सालले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई पद हस्तान्तरण गरेका थिए भने निवर्तमान महासचिव सरस्वती श्रेष्ठ सरुले नवनिर्वाचित महासचिव हरि पन्तलाई बैठक पुस्तिका हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा निर्वाचन समिति संयोजक एवं पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सदस्य एवं पूर्व अध्यक्ष बलराम खतिवडा, पूर्व अध्यक्ष झम्क सारु मगर, हरि अर्यालले शुभकामना व्यक्त गरेका थिए । 

उक्त अवसरमा समाजका पूर्वअध्यक्ष स्वर्गीय रुद्रप्रसाद खनालको तस्वीरमा माल्यार्पण गरि स्मरण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ