arrow

शुभबेला दुईपटक भएको यस्तो हुनेछ आजको दिन

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ पुष १४ बिहिबार
rashifal-horoscope-3.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ पुस १४ गते बिहीबार, इस्वीसंवत डिसेम्वर ३० तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार पौषशुक्लपक्षको षष्ठी तिथि रहनेछ ।

नक्षत्रमा पूर्वभाद्रपदा, विष्कुम्भादि योगमा व्यघात, करणमा गर, आनन्दादि योगमा मुद्गर रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । दिनमान २५ घटि ५१ पला अर्थात १० घण्टा २४ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५५ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१५ बजे हुनेछ ।

आजको राशिफल

मेष : आजको दिन भौतिक सुख सुविधा एवम् सेवा सत्कार मिल्ने खालको ग्रहगोचर रहेको छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्ध सुमधुर हुनेछ । विवाह योग्य युवायुवतीको लागि उपयुक्त स्थानबाट विवाह प्रस्ताव आउनसक्ने सम्भावना छ । देश तथा विदेशको यात्राको पनि संयोग देखिन्छ । व्यापार व्यवसायबाट लाभ र आफन्तजनको सहयोग मिल्ने छ । नोकरी आदिमा पनि ग्रहले राम्रो साथ दिएको छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्गको उपयोग गर्नु अनुकूल रहने छ भने उपहार व्यवहार फापसिद्ध हुनसक्ने छ ।

वृष : आजको दिन व्यवसायबाट यथेष्ट लाभ हुनसक्नेछ । उद्यमको प्रख्याति बढ्ने हुनाले कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा विजय मिल्ने तथा सफलता मिल्ने हुनाले आत्मबल यथेष्ट बृद्धि हुनेछ । आरोग्यता र कान्ति बृद्धि हुनेछ भने मानसिक स्वास्थ्यमा दृढता पलाउनेछ । पेशागत विकास र सामाजिक क्षेत्रबाट पनि हैसियत अनुसारको प्रख्याति तथा प्रतिष्ठा लाभ गर्नसकिने देखिन्छ । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने विपक्षिको सम्मान गर्न जाने फाइदा लिन सक्नुहुने छ । त्यस्तै सूर्यशक्तिको जागरण गर्नु शुभप्रद हुनेछ ।

मिथुन : आजको दिन विद्याबल प्रदर्शन गर्ने संयोग पर्नेछ । बुद्धिको चतुर्याँईले केही हद्सम्म मान्छेहरुको मन आकर्षण गर्न पनि सकिने छ । अध्ययन अध्यापनका क्षेत्रमा ग्रहगोचर अनुकूल रहने भएकोले तथा समयको सदुपयोग गरेको खण्डमा विद्यार्थीले राम्रो प्रगति गर्नसक्ने देखिन्छ । सन्तानपक्षमा पनि गोचरले राम्रो टेवा दिइरहेको छ साथै सन्तानको तर्फबाट पनि सन्तोष प्राप्त गर्नसकिने छ । पाँच अंक, रातो रङ्ग यहाँलाई आज फाप सिद्ध हुनेछ । सन्तान नहुनेहरुले गरीब तथा असहाय बालबच्चाको लागि सहयोग गर्नु शुभप्रद हुनेछ ।

कर्कट : आजको दिन मान्छेहरुसँगको वार्तालाप तथा बैठक बोलीचाली तथा वहसमा केही संयमित हुनपर्ने गोचर छ । मत बाझिने र असमझदारी गराउने भूमिकामा ग्रहको प्रवलता देखिन्छ । सहकर्मी तथा मित्रवर्गसँग द्वन्द हुनसक्ने र चलिरहेको कार्यमा अबरोध आउनसक्ने तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने भएकोले होसियार हुन जरुरी छ । मानसिक संकिर्णता बढ्नसक्ने सम्भावना पनि छ । धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । स्वास्थ्यलाई पनि अल्लि ख्याल पुर्याउन आवश्यक पर्नेछ । गरीब दीनदुःखीको सेवा वा सहयोगमा भूमिका निर्वाह गर्नुले प्रतिकूल ग्रहदोषलाई न्यून गर्न मद्दत गर्नेछ ।

सिंह : आजको दिन पुरुषार्थिलो रहनेछ । जोश जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । तेस्रोक्रम, प्राकृतिक रङ्ग आज तपाईको लागि उपयुक्त रहनेछ भने कसैको दाजुभाइबीचको सम्बन्धमा सुधारका लागि समन्वय गरिदिँदा प्रष्तिठा बढ्ने छ । साथै सूर्यदेव वा विशिष्ट सामाजिक व्यक्तित्त्वलाई खुशी बनाउनु शुभकर हुनेछ ।

कन्या : आजको दिन ढुकुटी भर्ने तथा आर्थिक पक्षमा सुधार ल्याउने गोचर परेको छ । व्यवसाय तथा व्यापार आदि कार्यक्षेत्रमा तदनुसारको कार्यतर्जुमा गर्नु बुद्धिमानी हुनेछ । पेशा आदिबाट लाभ एवम् सफलता मिल्नाले हर्षोल्लास एवम् उत्साह बढ्ने छ । नयाँ नाता कुटुम्बिक सम्बन्ध विस्तार हुने एवम् साविकको सम्बन्धमा प्रगाढता आउने छ । सभासम्मेलन, गोष्ठी, बैठक, संभाषण, प्रवचन आदिमा आज यहाँको बोलीले मान्छेहरु प्रभावित हुने योग परेको छ । वाणीको सदुपयोग गर्नुहोला । परोपकार आदि कार्यमा पनि उत्साह एवं सहभागीता बढ्नेछ । आज यो राशि हुने कसैकसैलाई गुप्त धन मिल्नपनि सक्नेछ ।

तुला : आजको दिन शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ भने मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्न सक्नु हुनेछ । सामाजिक जिम्मेवारी थपिन सक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । आज यहाँलाई एक क्रमसँख्या, रातो रङ्गको प्रयोग एवम् शिवाराधना तथा इष्टदेवको साधना बढाउनु शुभप्रद हुनेछ ।

वृश्चिक : आजको दिन केही संघर्षको सामना गर्नपर्ने देखिएको छ । कार्यमा बढी कोसिसले मात्रै थोरै सफलताले चित्त बुझाउन पर्नेछ । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ भने बुद्धिमततापूर्वक फजुलका विषयबाट तर्किनु उपयुक्त हुनेछ । सोँचविचार नपुर्याई गरिएको कार्यले खतिक्षति र पश्चाताप हुनसक्ने सम्भावना देखिएको छ । गोचरले अनावश्यक यात्रा हुनसक्ने पनि सम्भावना देखाइरहेको छ । मानसिक बहिर्गमनलाई संयम गरी स्वकार्यमा लगनशील रहनाले केही लाभ गर्नसकिने छ । यहाँको लागि आज तीन अंक, पहेंलो रङ्गको प्रयोग शुभप्रद हुनेछ ।

धनु : आजको दिन आयप्रद देखिएको छ । स्वकार्यमा लगनशील रहनाले व्यवसायबाट राम्रो उपलब्धि लिनसकिने छ । औकात एवम् स्तरअनुसार समाजसेवा, राजनीति एवम् जागिर आदिमा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा तथा आत्मबल एवम् यशकृति वृद्धि हुनाले सुख र सन्तुष्टिको अनुभूति हुनेछ । प्रशंसक बढ्ने र आफन्तिको शुभसमाचार प्राप्त हुनेछ । सम्मानित यात्राको अवसर पनि मिल्नसक्ने सम्भावना देखिएको छ । यो गोचर जनित शुभफल पाउन जन्मग्रहमा प्रतिकूल दशा भोग्नेहरुले भने केही उपायको अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

मकर : आजको सुधारोन्मुख एवं अनुकूलप्रद देखिएको छ । पेशा एवं व्यवसायिक क्षेत्रमा राम्रो उन्नती हुनसक्ने छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिन सक्ने छ । वचस्व स्थापित हुनेछ । ईष्टकार्यको लागि उत्तम अवसर मिल्नेछ । अवसरको सदुपयोग गर्नाले राम्रो उपलब्धि हातपार्न सकिनेछ । उच्च वर्गसँग सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ जसको सदुपयोग गर्नक्नु बुद्धिमानी हुनेछ । आज तपाईँले मान्यजनको दर्शन भेट् र आशिर्वाद लिनु उपयुक्त हुनेछ ।

कुम्भ : आजको दिन अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्य सम्पादन हुने ग्रहगोचर परेको छ । केही दबाब वा दोषको सामना गर्न चाहीँ नपर्ला भन्न सकिन्न । तथापि सत्यमा रहने र साहस एवम् दृढता बढाउनाले सफाई एवम् सफलता मिल्ने देखिन्छ । यात्रा योजना एवम् नयाँ कार्यको चिन्तन तथा थालनीलाई गोचरले साथ दिइरहेको छ । पेशागत लाभ पनि हुने योग परेको हुनाले व्यापार व्यवसाय तथा पेशाको क्षेत्रबाट आर्थिक लाभ गर्न सकिने छ । नौ अंक पहेलो रंग र धार्मिकजनको आर्शिवाद लिनु यहाँको लागि आज उपयुक्त हुनेछ ।

मीन : आजको दिन संघर्षजन्य परिस्थितिको सामना गर्नपर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेको छ भने कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरुको लागि चोटपटक वा विमारको सम्भावना पनि देखिन्छ ख्याल पुर्याउनु पर्ला । धैर्यता र संयमले प्रतिकूल समय टर्न दिनु उचित हुनेछ । आठ अंक, रातो रङ्गको प्रयोग गर्नु आज यहाँको लागि शुभ रहनेछ भने रोगीको सेवा गर्नुले पनि कष्ट निवारण गर्न मद्दत पुग्नेछ ।
 

साइतः सूर्य धनु चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीार परेकाले दक्षिण दशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः४१ बजेदेखि      ०७ः५९ बजेसम्म    शुभ बेला
बिहान ०७ः५९ बजेदेखि      ०९ः१८ बजेसम्म     रोग बेला
बिहान ०९ः१८ बजेदेखि      १०ः३६ बजेसम्म     उद्वेग बेला
बिहान १०ः३६ बजेदेखि       ११ः५४ बजेसम्म    चर बेला
बिहानमा ११ः५४ बजेदेखि       १ः१३ बजेसम्म   लाभ बेला
दिनमा १ः१३ बजेदेखि        २ः३१ बजेसम्म      अमृत बेला
दिनमा २ः३१ बजेदेखि        ३ः५० बजेसम्म     काल बेला
साँझ ३ः५० बजेदेखि        ५ः०७ बजेसम्म     शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ