- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चिसोका कारण बर्षेनी धेरै व्यक्तिहरुले ज्यान गुमाउने गरेका छन् । हरेक पटक मौसम परिवर्तन हुन्छ तर, परिवर्तित मौसममा बानी पर्न हामीलाई केही समय लाग्छ । परिवर्तित मौसममा ‘एडजस्ट’ गर्ने समयमा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि न्यून हुन्छ र शरीर विभिन्न भाइरस र ब्याक्टेरियाले शरीरमा आक्रमण गर्ने दाउमा हुन्छन् । विचार नपुर्याएमा तत्कालै बिरामी हुन पुगिन्छ । बाह्य तापक्रममा भएको परिवर्तनले चिसोसँग सम्बन्धी विभिन्न रोग लाग्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्छ ।
जाडो मौसममा विभिन्न किसिमका फ्लूको संक्रमण बढ्ने डर बढी हुन्छ । तापक्रमको गिरावटपछि यसको प्रत्यक्ष असर मानव शरीरमा हुने गर्दछ । चिसोमा शरीरको ताप घट्दा बढी चिसो महसुस हुन्छ । बाह्य वातावरण चिसो हुने भएकाले शरीरमा जति बेला पनि जाडो अनुभूति हुन्छ र रुघाको जोखिम बढ्छ । कुनै व्यक्तिको श्वासप्रश्वास, खोकी, हाच्छ्युँ र सामान्य बोलीचालीबाट पनि मौसमी फ्लू सर्न सक्छ । संक्रमित व्यक्तिको मुख, नाक र आँखाबाट मौसमी फ्लू सर्नेछ ।
शरीरले तापक्रम ‘एडजस्ट’ गर्न नसक्ने भएकाले जाडोमा अत्यधिक चिसो वा तातोमा स्थानमा नबस्न विज्ञहरू बताउँछन् । वातानुकूलित कोठामा बसेर बाहिर निस्किँदा शरीरले एकैचोटी बाहिरको चिसो मौसमसँग एडजस्ट गर्न नसक्ने भएकोले धेरै तापक्रममा नबस्न डाक्टहरुको सुझाव छ ।
धुलो, सुख्खा र चिसो हावाका कारण जाडोमा खोकीको जोखिम बढ्ने गर्दछ । पिनासको समस्या भएकालाई धुलाले बढी असर पुर्याउँछ । खोकीबाट बच्न खानेकुरामा विशेष सावधानी पुर्याउनु पर्दछ । नियमित रूपमा तातोपानी सेवन गर्नुपर्छ । शरीरमा चिसो र तातोको सन्तुलन मिलाउनुपर्छ । तातोपानी, चिया अथवा कफी खाएर चिसो पानी वा कोल्डड्रिंक्स खानुहुन्न । बाहिर निस्किँदा मास्क लगाउनुपर्छ ।
चिसो मौसममा अधिकांश मानिसको छाला फुस्रो हुन्छ । पर्याप्त पानी नखाँदा छाला फुस्रो हुने ओठ फुट्ने गर्छ । फुस्रो छालाबाट बच्न हरेक रात सुत्नुअघि कोकोनट र आलमोन्डको तेल लगाउनुपर्छ । तेलीय खानेकुरा खानुहुँदैन । प्रशस्त पानी पिउनुपर्छ ।
चिसोका कारण कतिपय मानिसमा टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या आउन सक्छ । उनीको टोपी, मफलरलगायत न्याना लुगा लगाउनुपर्छ । रोग निम्तिनुमा खानपिन पनि जिम्मेवार हुने भएकाले नियमित पोषिलो खानेकुरा खानुपर्छ । चिसोकै कारण बारम्बार टाउको दुखेमा दैनिक मनतातो अदुवा पानी पिउनुपर्छ ।