arrow

क्यासिनो आगलागीमा ज्यान गुमाउने नेपाली पनि रहेको शंका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
cambodia-casino-fire.jpg

काठमाडौं । कम्बोडियामा बुधबार एक क्यासिनोमा लागेको भीषण आगलागीबाट बच्न खोज्दै उक्त भवनबाट हाम फालेका केही व्यक्तिहरुको मृत्यु भएको छ । सो आगलागीका उद्धारकर्ताहरूले घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको बताएका छन् ।

यसै घटनामा परेर ज्यान गुमाउनेमा नेपाली नागरिकसमेत रहेको बताइएको छ। औपचारिक रुपमा पुष्टि हुन नसके पनि घटनामा एक नेपाली नागरिककोसमेत ज्यान गएको विभिन्न स्रोतहरुले जनाएको छ ।

यस विषयमा बुझ्दा परराष्ट्र मन्त्रालयले पनि औपचारिक जानकारी पाइनसकेको जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आफूले अहिले यकिन जानकारी नपाएको र यस घटनाको बारेमा थप बुझ्ने बताएकी छन् । उनले नेपाली नागरिकलेसमेत घटनामा ज्यान गुमएको भन्ने आशंका भएको र मन्त्रालयले बुझिरहेको बताइन् ।

आगलागी सहित भवनबाट भाग्न खोज्ने क्रममा दजर्नाैं व्यक्तिहरु घाइते भएका छन् । यो घटना कम्बोडियाको पोइपेट शहरको ग्रान्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको हो । यो क्यासिनो भएको ठाउँ थाइल्याण्डको सिमानामा हो । आगलागीबाट मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

कम्बोडियन अधिकारीहरूको आपतकालीन फोन कललाई प्रतिक्रिया दिने थाई उद्धार टोलीका नेता प्याचरिन थाएंथोङले केही पीडितहरू धुवाँमा श्वासप्रश्वास गर्नुपरेका कारण मरेको देखिएको बताएका छन्।

 'जब हामी आइपुग्यौं, हामी भित्र पस्न सकेनौं किनभने आगोले अधिकांश भवन पहिले नै आफ्नो नियन्त्रणमा लिएको थियो,' उनले भनेका छन् ।

अधिकारीहरुका अनुसार करिब ७०० थाई नागरिकहरुलाई उद्धार गरी थाइल्याण्डका अस्पतालहरुमा पठाइएको छ ।

आगलागीबाट बच्न खोज्दै मानिसहरुले भवनबाट हाम फालेको देख्ने अरण्यप्रथेट रेस्क्यु फाउन्डेसनका पीरापान श्रीसाकोर्नले जमिनमा ठोक्किएर दुई जनाको तुरुन्तै मृत्यु भएको र अरु चारदेखि पाँच जनाको खुट्टा भाँचिएको बताएका छन् ।

सामाजिक सञ्जालमा फैलिएका भिडियोहरुमा हेलमेट र सुरक्षात्मक गियर लगाएका उद्धारकर्मीहरूलाई धुवाँले भरिएको कोरिडोरमा हिंडिरहेको देख्न सकिन्छ ।

बान्तेय म्यान्चे प्रान्तीय प्रहरी आयुक्त मेजर जनरल सिथी लोहले घटना स्थलमा ३०० प्रहरी अधिकारी, ११ दमकल र धेरै हेलिकप्टर परिचालन गरिएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ