arrow

माधव नेपाललाई किन एमालेमा फर्काउन चाहन्छन् ओली ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १६ शनिबार
oli-madhav.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । करिब पाँच वर्षअघि शुरु भएको वाम एकताको प्रयोग दुई साढे दुई वर्ष नपुग्दै तुहियो र दुई पार्टी जुटेर बनेको नेपाल कम्युनिष्ट पार्टी फुट्दा तीन टुक्रा भएको थियो । केपी शर्मा ओलीको दम्भ र अहङ्कारविरुद्ध माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले विद्रोह गरेका थिए । त्यही क्रममा नेपाली कांग्रेसले सरकार बनाएको थियो र गठबन्धन भन्दै चुनावसम्म शेरबहादुर देउवा–प्रचण्ड र माधव नेपालसँगै हिँडेका थिए । प्रचण्डले एक्कासी गठबन्धन छाडेर केपी ओलीको समर्थनमा प्रधानमन्त्री हुने निर्णय गरे ।

यसरी जोडिँदै बिग्रिँदै हुने गरेको वाम गठबन्धन फेरि एक पटक जोडिने सङ्घारमा पुगेको छ । एकअर्कालाई भन्नु नभन्नु भनेका प्रचण्ड र ओली अहिले ‘बेष्ट फ्रेण्ड’ भएका छन् । उनीहरूको मेलमिलाप देखेर राजनीतिमा लाज शरम केही नहुने रहेछ भनेर सामाजिक सञ्जालमा टिप्पणीहरू चलिरहेका छन् । यस्तो प्रवृत्तिले नयाँ पुस्तामा वितृष्णा पनि ल्याएको छ ।

प्रचण्डलाई अहिले प्रधानमन्त्रीमा समर्थन गरे पनि ओली एमालेलाई ठूलो पार्टी बनाएर प्रचण्ड सरकार पछि आफ्नो नेतृत्वको सरकार बनाउन चाहन्छन् । यही कारण उनी सबै तीता कुराहरूलाई भुलेर माधव नेपालसँग सम्झौता गर्न तयार भएका हुन् । ओलीले नेपाल विरुद्ध गरेका विष बमनहरू अहिले पनि सामाजिक सञ्जालमा घुमिरहेका छन् । सत्ता स्वार्थ हाबी भएपछि कुनै निर्णय अनैतिक हुन्न भन्ने स्थापित गराउँदै छन् ओली ।

एक्लो नेपाल
ओली र प्रचण्डको मेलमा माधव नेपाल एक्लै परेका छन् । उनलाई एमाले प्रवेश गराउन एमालेका दोस्रो–तेस्रो तहका नेताहरू लागिरहेका छन् । नेपालले त प्रचण्ड र कांग्रेस दुवैले आफूलाई धोका दिएको बताइसकेका छन् । उनी एक्लै परेको देखेर एमालेका नेताहरूले अध्यक्ष ओलीलाई नेपालसँग गफ गर्न मनाएका छन् ।

नेपाल र ओलीको भेट प्रचण्ड निवासमा हुने तय भएको भए पनि अन्तिम अवस्थामा नेपालले उक्त बैठकमा नजाने निर्णय गरेका थिए । ओली कुनै गोप्य स्थानमा वार्ता गर्न चाहन्छन् । ओली माधव नेपालको घरमा गएरै भेट्न तयार छन् तर उक्त भेटघाट गोप्य हुनुपर्ने सर्त रहेको छ ।

यसरी ओली माधव नेपाललाई मनाएर एमालेसँग उनको पार्टी एकीकरण गराउन चाहन्छन् । माधव नेपाल पनि आफ्नो पार्टी राष्ट्रिय पार्टी नभएर के गर्ने कसो गर्ने स्थितिमा रहेका छन् । उनको पार्टीसँग १० सांसद रहेका छन् ।

अङ्क गणित
नेकपा एमालेसँग अहिले ७८ सांसद रहेका छन् भने नेपाली कांग्रेससँग ८९ सांसद रहेका छन् । एमालेले माधव नेपालको पार्टीसँग एकीकरण गरेमा ८८ सांसद हुनेछन् । उता नेपाली कांग्रेसका मनाङका सांसद टेकबहादुर गुरुङ निलम्बनमा परिसकेका छन् । एमाले पहिलो पार्टी हुन १ वा दुई सांसद आवश्यक रहेको छ । एमालेले थप दुई सांसद आफ्नो पार्टीमा ल्याउन सकेमा ठूलो पार्टी बन्नेछ ।

नेपाली कांग्रेस–८९, एमाले–७८, माओवादी–३२, रास्वपा–२०, राप्रपा– १४, जसपा–१२, जनमत पार्टी(६, नेकपा (एस)(१०, लोसपा–४, नागरिक उन्मुक्ति पार्टी–४, नेमकिपा–१, राष्ट्रिय जनमोर्चा–१, स्वतन्त्र–४ रहेको स्थितिमा एमालेले माधव नेपालसँग एकीकरण गरेमा र थप दुई सांसद आफ्नो पार्टीमा प्रवेश गराउन सकेमा ठूलो दल बन्नेछ ।

ठूलो दल र सरकार
प्रचण्ड नेतृत्वमा बनेको सरकार संविधानको धार ७६ को उपधारा २ बमोजिम निर्माण भएको हो । यदि ७६ (२) को सरकारले विश्वासको मत लिन नसकेमा ७६ (३) का आधारमा सरकार बनाउन ठूलो दललाई आह्वान राष्ट्रपतिले गर्न सक्ने प्रावधान रहेको छ ।

प्रचण्ड नेतृत्वको सरकार भविष्यमा कुनै समयमा असफल भएमा ठूलो दलले सरकार बनाउने मौका पाउने छ । उक्त मौकामा आफू तयार रहनु पर्ने केपी ओलीको स्पष्ट बुझाइ रहेको उनी निकट मानिसहरूले बताउन थालेका छन् । अहिलेको स्थितिमा प्रचण्डको सरकार असफल भएमा सरकार बनाउने पालो नेपाली कांग्रेसको आउने छ ।

धोकाधडी र नेपाली राजनीति
प्रचण्ड र ओलीमा आधा–आधा समय सरकार चलाउने सहमति भएको भनिए पनि ओली किन आफ्नो पार्टी ठूलो बनाउन चाहन्छन् त ? उत्तर साधारण छ – नेपाली राजनीतिमा कसैले कसैको विश्वास गर्दैनन् र शीर्ष नेताहरूले एक अर्काको बोलीको विश्वास गर्दैनन् ।

नेकपामा ओलीले प्रचण्डलाई धोका दिएका कारण पार्टी फुटेको थियो र प्रचण्ड–नेपाललाई कांग्रेस नजिक हुन परेको थियो । यसरी आफ्नो पालो आउँदा ओली सबैतिरबाट ढुक्क हुन चाहन्छन् ।

ओलीले रवि लामिछाने र राजेन्द्र लिङ्देनको समर्थन तयार गरेरै राखेका छन् भने जसपाले पनि ओलीलाई समर्थन गर्छ । उस्तै परिस्थितिमा अङ्क गणितकै कुरा गर्दा एमालेले कांग्रेस र माओवादी बिना सरकार बनाउन सक्नेछ ।

केपी ओलीले यसरी माधव नेपालसँग पनि बदला लिने छन् । अहिलेको एमालेलाई केपी ओलीले पूर्ण रूपमा आफ्नो बनाइसकेका छन् । यसरी माधव नेपाल पार्टी प्रवेश गरे पनि पूर्ववतस् स्थितिमा उनी रहन्नन् ।

उता सरकारबाट हटाएर प्रचण्डलाई घरको न घाटको बनाइदिने छन् । प्रचण्ड सरकारबाट बाहिरिएपछि कांग्रेससँग नजिकिन खोज्दा अब नजिक बस्न गाह्रो छ । यसपालिको गठबन्धनको असफलताले कांग्रेस पार्टीमा ठूलै हलचल ल्याएको छ र फेरि प्रचण्ड फर्केर आउँदा पहिले जस्तो सजिलै ढोका नखुल्ने सम्भावना धेरै देखिन्छ ।

 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ