arrow

सिद्धि योग परेको शिवको प्रिय दिनमा कस्तो होला राशिफल ?

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ पुष १८ सोमबार
rashifal-horoscope-3.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ पुस १८ गते सोमबार, इस्वीसंवत जनवरी २ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार पौषशुक्लपक्षको दशमी तिथि रहनेछ । नक्षत्रमा भरणी, विष्कुम्भादि योगमा सिद्धि, करणमा वणिज, आनन्दादि योगमा चर रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । दिनमान २५ घटि ५६ पला अर्थात १० घण्टा २५ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५५ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१७ बजे हुनेछ । आज पुत्रदा एकादशी व्रत गर्ने दिन ।

आजको राशिफल

मेष : आजको दिन आज गोचर दाहिना देखिएको छ । स्वास्थ्यमा आरोग्यता बढ्ने तथा कान्तिमा बृद्धि हुनेछ । आँटसाहस तथा हिम्मत बढेर आउने र शत्रुपक्षलाई झुकाउन सकिनेछ । विपक्षीसँगको रणनीतिक खेलमा सफलता मिल्नेछ । अवसर तथा समयको सदुपयोगले प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । स्वकार्य तथा व्यवसाय वा जागिर आदि पेशामा राम्रो उपलब्धि तथा सफलता प्राप्त गर्न सकिने छ । आज यहाँलाई हरियो रंङ्ग, छ अङ्कको उपयोग अनुकूल रहने छ भने माँ इन्द्रायणीको दर्शन वा स्मरणले थप मार्गप्रसस्त गर्नेछ ।

वृष : आजको दिन अपेक्षित विषयमा नभए पनि अर्कोतर्फ काम बन्नसक्ने छ । गम्भीरताले विद्यार्थी वर्गले विद्यार्जनमा प्रगति गर्नसकिने छ । बिटमार्न अल्लि कठिन पर्न सक्ने ग्रहगोचरको प्रभाव भएकोले आवश्यकभन्दा बढी विषयमा प्रवेश नगरेको राम्रो हुनेछ । आज तपाईको व्यवहारमा आत्मप्रसंशाको मनोभाव झल्किन सक्नेछ र मुल्याङ्कनमा ह्रास आउनसक्ने छ, होसियारीले व्यवहार गर्नु उपयुक्त हुनेछ । अर्काको चियोचर्चामा भुल्दा आफ्नै कार्य अधुरो रहनसक्ने तर्फ पनि ख्याल पुर्याउनुहोला । आज यहाँको लागि पाँच अंक, रातो रङ्गको उपयोग र माँ इन्द्रायणीको भक्तिभाव शुभ हुनेछ ।

मिथुन : आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्नपर्ने ग्रहगोचर परेको छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकिर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना भएकोले बैठक आदिमा तपाईँले हठ नगरेकै राम्रो हुनेछ भने नयाँ प्रस्ताव पनि नराखेकै उचित । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले संघर्षबाट केही लाभ भने गर्नसकिएला । चार अङ्क, सेतो रङ्गको उपयोग र माँ सन्तोषीको श्रद्धाभक्ति आज यहाँको लागि फापकर हुनेछ ।

कर्कट : आजको दिन पराक्रम बढेर आएकोले सानातिना काममा सहजै सफलता मिल्नेछ भने नविन कार्ययोजनाको जमर्को तथा प्रस्ताव पनि आउनसक्ने छ । उत्साह तथा उमङ्गिलो दिन परेकोले समयको सदुपयोग गर्नाले व्यवसायिक प्रगती तथा लाभ हुने र सन्तुष्टि मिल्नेछ । सहयोग पनि प्राप्त गर्न सकिने साथै परिश्रमले सफल भैनेछ । प्रतिस्पर्धा तथा खेलकुद आदिमा सफलता मिल्ने छ भने अभिष्ट कार्य सिद्धि हुनेछ । पुरुषार्थ गर्नसकिने छ भने सफलता आदिको कारणले केही महत्त्वाकांक्षा पनि बढाउने छ । दाजुभाईबीचको मतान्तरलाई समझदारीमा ल्याउन सकिनेछ । आज तीन अङ्क, हरियो रङ्गको प्रयोग गर्नु फापकर हुनेछ भने भाइबहिनीलाई सहयोग गर्नुले विशेष महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

सिंह : आजको दिन सामान्य अनुकूल देखिएको छ । बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तथापि सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता-कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । वाकवृति हुनेहरुले अल्लि ख्याल पुर्याउनु पर्ने दिन रहेको छ । संयम पूर्वक स्वकर्ममा रत्रहनेहरुको लागि दिन ठिकै रहनसक्ने छ । आज यहाँको लागि दुई अंक, सेतो रंगको उपयुक्त रहने छ भने कुमारी देवीको श्रद्धाभक्ति गर्नु शुभदायक हुनेछ ।

कन्या : आजको दिन शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ भने मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्न सक्नु हुनेछ । सामाजिक जिम्मेवारी थपिन सक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँलगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । आज यहाँलाई एक क्रमसँख्या, रातो रङ्गको प्रयोग एवम् इष्टदेवको साधना बढाउनु शुभप्रद हुनेछ ।

तुला : आजको दिन अनपेक्षित रुपमा विभिन्न खालका अपजशको सामना गर्न पर्नसक्छ । एकाएक खर्चको बृद्धि हुने र गर्जोटार्न धौधौपर्ने तथा नहुनेकाममा बढी मनजाने हुनसक्ने छ । अगाडि सारिएको काममा बाधा बिघ्नता आयो भन्दैमा हतास भइहाल्न भने परिहाल्दैन, संघर्ष एवम् अधिक परिश्रमले अपेक्षा गरिएको क्षेत्रमा केहीलाभ हुनसक्ने छ भने खासै योजनाभित्र नपारिएको काम बनेर आकस्मिक लाभ हुनसक्नेछ । साथ सहयोग पनि मिल्नेछ । मठ मन्दिरको दर्शन, तीर्थको यात्रा एवम् मान्यजनलाई भेट्घाट गर्ने आदिमा खर्चको सदुपयोग गर्नाले प्रतिकूल ग्रहफल कमगर्न मद्दत हुनेछ । आज देवी भुवनेश्वरीको दर्शन भक्ति गर्नु उत्तम हुनेछ ।

वृश्चिक : आजको दिन आयप्रद देखिएको छ । स्वकार्यमा लगनशील रहनाले व्यवसायबाट राम्रो उपलब्धि लिनसकिने छ । औकात एवम् स्तर अनुसार समाजसेवा, राजनीति एवम् जागिर आदिमा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा तथा आत्मबल एवम् यशकृति वृद्धि हुनाले सुख र सन्तुष्टिको अनुभूति हुनेछ । प्रशंसक बढ्ने र आफन्तिको शुभ समाचार प्राप्त हुनेछ । सम्मानित यात्राको अवसर पनि मिल्नसक्ने सम्भावना देखिएको छ । यो गोचर जनित शुभफल पाउन जन्मग्रहमा प्रतिकूल दशा भोग्नेहरुले भने केही उपायको अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

धनु : आजको दिन मान सम्मान एवम् पद प्रतिष्ठा प्राप्ति हुने खालको रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक उपलब्धि गर्नसकिने छ । जागिर एवम् राजनीति तथा समाजसेवाको क्षेत्रमा थप जिम्मेवारी मिल्न सक्ने छ । उच्चवर्ग तथा पदस्थ व्यक्तित्वहरुसँगको भेटघाटले महत्वाकांक्षी पनि बनाउने छ । विशेष विषयको योजनाको बारेमा विचार विमर्श हुन सक्नेछ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल रहने छ भने अपेक्षित उपलब्धिको लागि माँ इन्द्रायणी वा सन्तोषीको श्रद्धाभक्ति गर्नु अझ प्रभावकारी हुनेछ ।

मकर : आजको दिन ईष्र्यालु तथा कमजोरी खोज्नेहरू सक्रिय देखिने सम्भावना भएकाले सावधानी अप्नाउन पर्नसक्ने छ । त्यस्तै मिथ्या आरोप आइलाग्न सक्ने सम्भावना भएकोले होसियारी जरुरी हुनेछ । शुरु शुरुमा भयत्रासको वातावरण सृजना भएपनि सकारात्मक सोँच तथा व्यवहारले परिणाम भने सुखद ल्याउन सकिनेछ प्रयत्न गर्नुहोला । औपचारिक कार्यक्रम आदिमा सहभागी हुनुपर्ने सम्भावना पनि देखिएको छ । आस्तिक भावना बृद्धि हुनाले धर्मकर्म बढ्ने तथा धर्मप्रभावले धनलाभ पनि हुने देखिन्छ । आज यहाँलाई नौ अंक, पहेलो तथा सेतो रङ्गको प्रयोग र इन्द्रायणीदेवीकोे स्तुति विशेष फलकारक हुनेछ ।

कुम्भ : आजको दिन त्यति सहज देखिएको छैन । स्वास्थ्यमा गडबढी हुनसक्ने र गरिरहेको कामकार्यमा पनि झमेला आइलाग्नसक्ने सम्भावना छ । समयको प्रतिकूलतालाई नबुझि कुनै पनि कार्यमा हतार गर्दा उल्टो परिणाम आउनसक्ने र हानी नोक्सानी व्यहोर्नुपर्ने हुनसक्ने छ, ख्याल पुर्याउनु होला । दैनिक कार्यमा बढी परिश्रमको बाबजुत कम उपलब्धिले चित्तबुझाउनु पर्ला, संयम र धैर्य गरी प्रतिकूल समयलाई टर्न दिनु बुद्धिमानी हुनेछ । बलजबर्जस्तिले पश्चाताप पार्नसक्ने छ । कसैकसैलाई चोटपटकको पनि भए दखिएको छ होसियारी अप्नाउनु होला । आज आठ अंक, रातो रङ्ग शुभ हुनेछ भने रोगीको सेवाले पूण्य दिनेछ ।

मीन : आजको दिन भौतिक सुख सुविधा एवम् सेवा सत्कार मिल्ने खालको ग्रहगोचर रहेको छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेम सम्बन्ध सुमधुर हुनेछ । विवाह योग्य युवायुवतीको लागि उपयुक्त स्थानबाट विवाह प्रस्ताव आउन सक्ने सम्भावना छ । देश तथा विदेशको यात्राको पनि संयोग देखिन्छ । व्यापार व्यवसायबाट लाभ र आफन्तजनको सहयोग मिल्ने छ । नोकरी आदिमा पनि ग्रहले राम्रो साथ दिएको छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्गको उपयोग गर्नु अनुकूल रहने छ भने उपहार व्यवहार फापसिद्ध हुन सक्ने छ ।

साइतः सूर्य धनु चन्द्रमा मेष राशिमा रहनेछ । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः४१ बजेदेखि      ०७ः५९ बजेसम्म    अमृत बेला
बिहान ०७ः५९ बजेदेखि      ०९ः१८ बजेसम्म     काल बेला
बिहान ०९ः१८ बजेदेखि      १०ः३६ बजेसम्म     शुभ बेला
बिहान १०ः३६ बजेदेखि       ११ः५४ बजेसम्म    रोग बेला
बिहानमा ११ः५४ बजेदेखि       १ः१३ बजेसम्म   उद्वेग बेला
दिनमा १ः१३ बजेदेखि        २ः३१ बजेसम्म      चर बेला
दिनमा २ः३१ बजेदेखि        ३ः५० बजेसम्म     लाभ बेला
साँझ ३ः५० बजेदेखि        ५ः०७ बजेसम्म     अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ