arrow

अमेरिकामा डरलाग्दो बन्दुक आतङ्क : एक वर्षमा ४५ हजारको हत्या, दैनिक एक सय २४ मारिन्छन्

जनसङ्ख्या भन्दा बढी अमेरिकीसँग बन्दुक: दैनिक ५३ को हत्या हुन्छ, एकै वर्ष ४५ हजार मारिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
american-gun.jpg

काठमाडौं। अमेरिकाको प्रमुख स्वास्थ्य निकाय सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार सन् २०२० मा मात्रै अमेरिकामा बन्दुक अथवा गोली हानेर मृत्यु हुनेको सङ्ख्या ४५ हजार २ सय २२ रहेको छ।

यो सङ्ख्या सन् १९६८ देखि राख्न थालिएको यस किसिमको मृत्युको वार्षिक तथ्याङ्कमा सबै भन्दा बढी हो। यसले अमेरिकामा प्रतिदिन बन्दुक हिंसा अथवा गोली हानेर औसतमा १२४ व्यक्तिको मृत्यु हुने गरेको देखाएको छ।

यसका बाबजुद पनि हालै अमेरिकी राज्य अलाबामाले ह्यान्डगन बोक्न पृष्ठभूमि जाँचको आवश्यकता हटाएको छ। यसको अर्थ अब जो सुकै व्यक्तिले कुनै इजाजत पत्र बिना ह्यान्डगन बोक्न सक्छ।

यो थपिएको पछिल्लो राज्यसँग अब, अमेरिकाका ५० राज्यहरू मध्ये आधा २५ राज्यमा जो सुकैले पनि अनुमति बिना ह्यान्डगन बोक्न सक्छन्।

बन्दुक बोक्नेमा सिरिया भन्दा कुख्यात अमेरिका

जेनेभा आधारित साना हतियार सर्वेक्षण द्वारा सार्वजनिक सन् २०१८ को रिपोर्टका अनुसार ३३ करोड जनसङ्ख्या रहेको अमेरिकामा ३९ करोड ३३ लाख हतियार मानिसहरूसँग छन्। कसैले एक भन्दा बढी बन्दुक बोक्दा जनसङ्ख्या भन्दा बढी हतियार मानिसहरूसँग रहेको यो तथ्याङ्कले देखाउँछ।

तथ्याङ्क अनुसार अमेरिकामा प्रति १०० बसोबासीहरुसँग १२०.५ बन्दुक रहेको छ। यो विश्वकै सबैभन्दा बढी हो। दोस्रोमा यमनमा प्रति १०० बसोबासीहरुसँग ५२.८ बन्दुक रहेको छ। तेस्रो र चौथोमा सर्बिया र मोन्टेनेग्रोमा १०० बसोबासीसँग ३९.१ बन्दुक रहेको छ।

यो दर उरुग्वे र क्यानडामा प्रति एक सयमा ३४.७, साइप्रसमा ३४, फिनल्याण्डमा ३२.४, लेबनानमा ३१.९ र आइसल्याण्डमा ३१.७ रहेको छ।

ह्यान्डगनबाट धेरै हत्या

एनल्स अफ इन्टरनल मेडिसिनको अध्ययनले जनवरी २०१९ देखि अप्रिल २०२१को बीच ७५ लाख अमेरिकी वा जनसङ्ख्याको तीन प्रतिशत नागरिकहरूले पहिलो पटक बन्दुक किनेका थिए।

अन्य देशहरूको तुलनामा अमेरिकामा बन्दुकबाट हुने हत्या सबैभन्दा बढी रहेको छ। सीडीसीको तथ्याङ्कले सन् २०२० मा भएका कुल हत्याको ४३ प्रतिशत अर्थात् १९,३८४ होमीसाइड रहेको जनाएको छ। तथ्याङ्कले सन् २०२० मा गत दश वर्षको तुलनामा ७५ प्रतिशत र २०१९ को तुलनामा ३४ प्रतिशतले हत्या वृद्धि भएको देखाउँछ।

तथ्याङ्कले अमेरिकामा बन्दुकले प्रतिदिन ५३ जनाको ज्यान लिने गरेको र सबै हत्यको ७९ प्रतिशत हत्या हतियार प्रयोग गरेर हुने गरेको अनुसन्धानले देखाएको छ।

अत्यधिक मास सुटिंग

वाशिंगटन आधारित गन वाइलेन्स आर्काइभको तथ्याङ्कले संयुक्त राज्य अमेरिकामा २०२२ मा मात्रै ६ सय भन्दा सामूहिक गोलाबारी (मास सुटिङ)का घटना भएका छन्।

चार वर्ष अघि रिपोर्ट गरिएका ३३६ घटनाको तुलनामा यो लगभग दोब्बर हो। सामूहिक गोलाबारी भनेको चार वा बढी व्यक्तिहरूको गोली हानेर हत्या गरिने घटना हो।

बन्दुक कानुनमा के भन्छन् अमेरिकी?

अमेरिकामा २०२० मा बन्दुक सम्बन्धी कडा प्रतिबन्ध हुनपर्छ भन्ने पक्षमा समर्थन२०१४ यता भन्दा झनै तल झरेको छ।

अमेरिकी आधारित एनालिटिक्स कम्पनी ग्यालपद्वारा गरिएको एक सर्वेक्षणमा सहभागी अमेरिकीहरूमध्ये ५२ प्रतिशतले मात्र बन्दुकसम्बन्धी कडा कानुनको पक्षमा रहेको बताएका थिए, जबकि ३५ प्रतिशतले कानुन अपरिवर्तित रहनुपर्ने बताए।

अध्ययनमा ११ प्रतिशत उत्तरदाताहरूले नियमहरू कम कडा बनाइनु पर्नेमा मत गरेका थिए। यसै अनुसन्धानमा डेमोक्र्याटहरू ९१ प्रतिशतले बन्दुकका लागि बलियो कानुनको पक्षलाई समर्थन गरेका छन्। रिपब्लिकनका २४ प्रतिशत र स्वतन्त्र ४५ प्रतिशत मात्रै यो पक्षमा रहेको देखिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ