arrow

छटपटीमा सुवास नेम्वाङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
subash-nembang-illam-2-uml-mp-2079-2022.jpg
तस्बिर : हाम्राकुरा

काठमाडौँ। राष्ट्रपतिको दाबी गरिरहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सबैतिर सहयोगको अपेक्षासहित सम्पर्क गर्न थालेका छन्। केही दिन अघि आफू निकट रहेका मिडियाकर्मीहरूलाई फोन गरेर आफूलाई सहयोग गर्न आग्रह गरेका उपाध्यक्ष नेम्वाङले मङ्गलवार दिउसो पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग साढे २ घण्टा एक्लै कुराकानी गरेका छन्। एमालेको तर्फबाट तीन पटक सभामुख भैसकेका नेम्वाङले राजनीतिबाट अवकाश लिने बेलामा राष्ट्रपतिको दाबी गरेका छन्।

नेकपा एमालेभित्र राष्ट्रपतिका लागि उपाध्यक्षहरू नेम्वाङसहित युवाराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यको नाम चर्चामा रहेको छ। पछिल्लो समयमा सिन्धुलीकी गोमा देवकोटाका नाम पनि चर्चामा ल्याउन थालिएको छ। उपमहासचिव एवं ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतका नेताहरूले देवकोटाको नाम चर्चामा ल्याएपछि नेम्वाङले ओलीसँग एक्लै कुराकानी गरेका हुन्।

ओलीसँग नेम्वाङले छलफल गरेको थाह पाएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि बालकोट हाजिर भएका थिए। पछिल्लो पटक एमालेको ‘कि’ पोस्टमा को रहने भन्ने बारेमा नेम्वाङ र पोखरेलबीच हानाथाप रहेको छ। ‘नेम्वाङजीले कुराकानी गरिरहेका बेला वरिष्ठ उपाध्यक्ष पनि आउनु भएको थियो’, बालकोटमा रहेका एक केन्द्रीय सदस्यले भने। उनका अनुसार एउटा समूहले पोखरेललाई राष्ट्रपति दिनुपर्छ भन्ने लाइनमा चर्चा चलाइरहेका छन्।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि पोखरेललाई अघि बढाउने विषयमा सहमत रहेको स्रोतको दाबी छ। ओलीले अहिले संसद्मा भइरहेको सिट सङ्ख्या नघटाउने गरी देवकोटा र पोखरेललाई अघि सार्ने एक थरी एमालेको मत रहेको छ। यद्यपि पोखरेललाई राष्ट्रपति बनाउँदा निकै बदनाम खेप्नुपर्ने भएकाले देवकोटालाई पनि अघि सार्न सक्ने भएकाले नेम्वाङले ओलीसँग एक्लै भेटघाट गरेको स्रोतको दाबी छ।

मङ्गलवार बिहानै ओली र नेम्वाङको एक्ला एक्लै छलफल चलिरहेको समयमा ओली निवास पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेल केही बेर बार्दलीमा बस्दै गर्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका थिए। पोखरेलले पाँच मिनेट जति ओलीसँग कुराकानी गरेपछि बालकोटमा राजेन्द्र लिङदेन सहितको छलफल चलेको थियो। उनीहरूले प्रचण्ड नेतृत्वको सरकारलाई कसरी टिकाउन सकिन्छ भन्नेबारेमा छलफल गरेको बालकोटमा रहेका एक केन्द्रीय सदस्यले भने।

ओलीले राप्रपाका अध्यक्ष लिङदेनलाई सरकारमा सहभागिताको बारेमा जिज्ञासा राखेका थिए। उनले पौष २७ गते राष्ट्रिय पर्व मनाउन सार्वजनिक बिदा दिनुपर्ने लगायतका सर्त रहेको बताएपछि ओलीले मुस्कुराउँदै प्रचण्ड जी सहमत हुनुहुन्छ होला नि भनेर सरकारसँग पहल गर्न आफू पनि तयार रहेको सङ्केत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ