जसपा र नेकपा(एस) बीच पार्टी एकताको पहलसँगै वाम एकताको प्रयास
चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
1.1k
Shares
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । आज पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालयको ४५औँ बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो ।
अहिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताको पहल भइरहेको बताइएको छ । जनता समाजवादीले पनि विचार मिल्नेसँग एकता गर्ने गरी वार्ता समिति बनाइसकेको छ ।
बैठकले कार्यदलमा भुसालसहित गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनले कार्यदलले वामपन्थीहरूसँग छलफल, परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्ने काम गर्ने बताए । उनले भने, “हामीले हालैको पोलिटब्यूरो बैठकबाट वाम एकताका लागि पहल गर्ने र त्यसको अगुवाइ हाम्रो पार्टीले सुरु गर्ने भनेर निर्णय गरेका थियौँ । त्यसलाई पूरा गर्न महासचिव भुसाल नेतृत्वको तुलाधर, ज्वाला र पौडेल रहेको चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेका छौँ । यो कार्यदलले वामपन्थीसँग छलफल गरी निष्कर्ष निकाल्नेछ ।”
यसैगरी उपमहासचिव खतिवडाले वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा सरकार पक्षका पार्टीहरूले नै औपचारिक प्रस्ताव नगरेको जानकारी दिए ।
गएको भदौमा नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि संयोजन समिति बनाउने निर्णय समाजवादीले गरेको थियो । तर माओवादी केन्द्रसँगको एकता प्रक्रिया हालसम्म अघि बढ्न सकेको छैन ।