arrow

चौथो ठुलो पार्टी बन्ने लक्ष्यका साथ जसपा र नेकपा एसबीच पार्टी एकताको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
Nepal-Yadav.jpg

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (एस) बीच सहकार्यको प्रस्ताव अघि बढेको छ । जसपाले राजनीतिक सहकार्य मात्रै नभएर पार्टी एकतासम्मको प्रस्ताव अघि सारेपछि एस पार्टीले वामपन्थी एकताको पहल गर्न कार्यदल गठन गरेको छ । 

केही दिन अघि जसापाका अध्यक्ष उपेन्द्र यादवले एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललाई भेटेर सो प्रस्ताव गरेपछि उनीहरू सकारात्मक रहेका थिए । त्यसको परिणामस्वरूप एस पार्टीले कार्यदल गठन गरेको हो । अहिलेको संसद्मा चौथो ठुलो शक्तिको रूपमा रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा ठुलो शक्ति बन्ने प्रयास स्वरूप पार्टी एकता गर्दै सहकार्यको प्रस्ताव गरेको स्रोतको दाबी छ । 

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको २० सिट रहेको छ । तर एस पार्टी र जसपा मिलेमा एसको १० र जसपाको १२ सहित २२ सिट हुनेछ । ‘पार्टी एकताको प्रस्ताव आएको छ तर सफल हुन्छ नै भन्ने छैन’, एस पार्टीका एक नेताले भने । 

पार्टी एकतासम्मको कुरा उठेपछि बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालयले बैठकले महासचिव वेदुराम भुसाल भुसालको नेतृत्वमा कार्यदल गठन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् । कार्यदल सदस्यमा गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला छन्। 

‘अब कार्यदलले सबै वामपन्थीहरूसँग छलफल र परामर्श गर्छ । व्यक्ति र संस्था सबैलाई जोड्ने प्रयत्न रहन्छ,’ उनले भने । एमालेबाट विभाजित भएको एस पार्टी एमालेतिरै मिल्ने हल्ला चलिरहेको बेला जसपासँग सहकार्य गर्ने प्रस्ताव अघि बढाएको छ । 

‘हामीले गत पोलिटब्युरो बैठकबाट एउटा प्रस्ताव पारित गरेका थियौँ । हामी वाम एकताको लागि विभिन्न ढङ्गले पहल गर्ने र त्यसको अगुवाइ हाम्रो पार्टीले सुरुवात गर्ने भनेर निर्णय गरेका थियौ । यसै विषयमा व्यापक छलफल गरेका छौँ’, उनले भने ।  एमालेतिर मिल्नबाट तत्काल रोकिन पनि यो कदम चालिएको एस पार्टीका एक नेताले दाबी गरिरहेका बेला अचानक वामपन्थी एकताको नाममा यस्तो प्रस्ताव गरिएको हो । 

‘विगतमा हामीले बनाएको एउटा कमिटी थियो, जसले ४-५ वटा पार्टीलाई हाम्रो पार्टीमा समावेश गरेको थियो,बाँकी जिम्मेवारी पूरा गर्न कमरेड महासचिव वेदुराम भुसाल नेतृत्वको गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल ४ सदस्यीय वाम एकता कार्यदल गठन गरेका छौँ, यो कार्यदलले वामपन्थीहरुसँग छलफल गरी निष्कर्ष निकाल्नेछ,’ खतिवडाले भने । उता जसपाले पनि वार्ता समिति बनाईसकेको छ । जसपा ले विभिन्न राजनीतिक दलसँग एकता, सहकार्य तथा गठबन्धन गर्न वार्ता समिति बनाएको हो । 

एस पार्टीसँग पार्टी एकता हुने चर्चाबीच जसपाले ती सदस्यीय वार्ता समिति बनाएको हो । सो समितिमा राजेन्द्रप्रसाद श्रेष्ठ संयोजकत्वमा र अन्य सदस्यहरुमा रकम चेम्जोङ र गोविन्द चौधरी रहेका छन् । उनीहरू तिनै जनाको पृष्ठभूमि पूर्व एमाले हो । 

अहिलेको सरकारमा एमाले र माओवादीपछि सबैभन्दा बढी मन्त्रालयको दाबी गर्ने रवि लामिछानेको पार्टी भएका कारण पनि यी दुई पार्टीले एकता गरेर संसद्मा ठुलो पार्टी बन्ने कोसिस गरेको स्रोतको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ