व्यवसायीप्रति गरिने सम्मानित व्यवहारले लगानीमैत्री वातावरण बन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
1k
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले व्यवसायीप्रति गर्ने सम्मानित व्यवहारले मात्र पनि मुलुकभित्र लगानीमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने बताएका छन्।
नेपाल निर्यात परिषद्को २५औँ वार्षिक साधारण सभा तथा ७औँ निर्यात दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले गर्ने सम्मानपूर्ण व्यवहारले मात्र पनि निजी क्षेत्र उत्साहित हुने र मुलुकको आर्थिक तथा औद्योगिक विकासमा सकारात्मक प्रभाव पर्ने बताए।
निजी क्षेत्रको लामो प्रयासपछि नेपाल सरकारले व्यवसायीहरूलाई सीआईपी सम्मान दिन सुरु गरेकोमा हाल स्थगित गरिएकोमा उनले दुःख व्यक्त गरे।
“हाम्रो लामो र अथक प्रयास पनि नेपाल सरकारले व्यवसायीहरूलाई सीआईपी सम्मान दिन सुरु गरेको थियो। तर हाल त्यो पुनः स्थगित छ,” उनले प्रश्न गरे, “जुन व्यवसायीले नेपालको निर्यात बढाउन सहयोग गर्छ, आयात प्रतिस्थापन गर्छ, विदेशी मुद्रा भित्र्याउँछ, धेरै भन्दा धेरै कर तिर्छ, रोजगारी सृजना गर्छ र व्यवसायीलाई सम्मान दिँदा सरकारको लगानी पनि पर्दैन यस्तो कुरामा सरकारले किन कन्जुस्याइँ गर्नुपर्ने ?”
आफू पनि निर्यात व्यवसायसँग आबद्ध रहेको र यस व्यवसायको समस्याको बारेमा आफूलाई पूर्ण जानकारी भएको बताउँदै उनले निर्यात प्रवर्द्धनका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको तर्फबाट आफूले सदैव सकारात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारे।
नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी चैत्रमा हुने चुनावी साधारण सभातर्फ इङ्गित गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासङ्घ र सरकारसँग निर्यात व्यवसायीहरूका विषयहरूको पैरवी गर्न निर्यात व्यवसायीलाई नै प्रतिनिधिको रूपमा महासङ्घमा निर्वाचित गर्न सुझाव दिए।