arrow

सत्ता संघर्ष

सभामुख पाए राष्ट्रिय सहमतिको नाममा सरकारलाई विश्वासको मत दिने कांग्रेसको लक्षण, ओलीको खबरदारी

ओलीले सुझावको शैलीमा कांग्रेसलाई भने –कांग्रेसले पाँच वर्षसम्म सत्ताको लागि च्याँखे नथापेकै राम्रो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
congress-leaders-2079-09-23.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै संसद्मा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइरहे पनि कहीँ कतै सरकारमा जाने बाटो छ कि भनेर खोजी भैरहेको छ । 

कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिँदा उनले यो सरकारलाई विश्वासको मत दिने नदिने विषयमा केही बताएनन् । 

शनिबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठक सम्पन्न भएको बैठकमा अर्को बैठक २६ गते बिहान ९ बजे बस्ने र उक्त बैठकले सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

संसदमा सबैभन्दा ठूलो दल भएको छ । अहिले कांग्रेसको ८९ सिट रहे पनि सरकार बाहिर बसिरहेको अवस्थामा विश्वासको मत दिए पनि नदिए पनि उसका लागि कुनै फरक पर्दैन । 

वामपन्थीहरुको सरकार बनिरहेको र त्यसमा माधवकुमार नेपाल समूह छुटेकाले त्यसबाटै छिर्के हान्न खोज्दा पनि कांग्रेसले तत्कालै विश्वासको मत दिनुपर्ने आवश्यकता देखिँदैन । 

तर पुरानो सहयात्री दल र सहकर्मी नेताले सरकारको नेतृत्व गरेका कारण कांग्रेसले संसदकै कुनै एक महत्वपूर्ण पद पाइहालिन्छ कि भन्ने लोभ राखेको कहीँ कतै आभाष हुन थालेको छ । 

कांग्रेसका कतिपय नेताहरुले २६ गतेअघि नै यो सरकार ढल्छ भन्ने अभिव्यक्ति दिइरहेका छन् । तर ढल्छ चाहिँ कसरी भन्ने केही बताएका छैनन् । तत्कालै ढल्ने आधार पनि देखिँदैन । यो कुरा कांग्रेसका राजनीतिक खेलाडीहरुले नबुझेका पनि होइनन् । तर पनि विश्वासको मत दिने कि नदिने भन्ने बारेमा कांग्रेसले किन २६ गते बिहानलाई कुरेको होला भन्ने प्रश्न उब्जिएको छ । 

नेकपा एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री पाएको नेकपा माओवादी केन्द्रले दुई वर्षपछि सभामुख पनि पाउने हल्ला चलिरहेको छ । तर अहिलेको अवस्थामा भने एमालेले राष्ट्रपति र सभामुख पाउने छ । साढे दुई वर्षपछि एमालेले प्रधानमन्त्री पाउने र त्यसको बदलामा माओवादीले सभामुख चलाउने भनिए पनि त्यो स्पष्ट हुन सकेको छैन । 

तर कांग्रेसका केही नेताहरुले यतिबेलै राष्ट्रिय सहमतिको सरकार भनेर सभामुखका लागि सत्ता घटकका नेताहरुसँग छलफल गरेको बुझिन आएको छ । ‘कांग्रेसका केही साथीहरुले सभामुखको प्रस्ताव गरिरहनु भएको छ, सभामुख दिएमा विश्वासको मत दिने संकेत गरिरहनु भएको छ’, माओवादीका एक पदाधिकारीले बताए ।

ती पदाधिकारीको भनाइ यदि सत्य हो भने कांग्रेस यतिबेला विपक्षीमा बस्नुको सट्टा फेरि पनि सत्तारोहणका लागि पहल त गर्दै छैन भन्ने आशंका देखिएको छ । विगतमा माओवादीसँगको सहकार्य कांग्रेसका लागि त्यति फलदायी बनेको छैन भन्ने तथ्यलाई बिर्सेर फेरि पनि सभामुख मागेर त्यससँग विश्वासको मत साट्नु आवश्यक नभएको कतिपय कांग्रेसका नेताहरुको भनाइ छ । 

माओवादीका एक पदाधिकारीले दिएको जानकारी अनुसार कांग्रेसका केही नेताहरुले सभामुखका लागि गरिएको कुराकानीको विषयमा एमालेले पनि सूचना पाइसकेको छ । 

त्यही सूचनाका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँँसो कांग्रेसले पाँच वर्षसम्म सत्ताको लागि च्याँखे नथापेकै राम्रो भन्ने अभिव्यक्ति दिएका थिए । 

उनले शनिबार दिउँसो यो सरकार ढले पनि संविधानको धारा ७६ (३) अनुसार अर्को सरकार बन्ने भएकाले प्रधानमन्त्री पद हावादारी गफ मात्रै भएको र कांग्रेसले भित्रभित्रै अरुनै चाल चलेको भनेर त्यही सभामुख पदप्रति लक्षित गरी आफ्नो अभिव्यक्ति दिएका थिए ।

 ‘अहिले पनि हामीभित्रको अन्तर विरोधमा खोल्न पायो भने सरकारको नेतृत्व पाउँछ । त्यस्तो भएन भने ७६ (४) नभए ७६ (५) मा जान्छ,’ ओलीले भने ‘अहिलेको राजनीति गरिरहेको व्यक्ति संविधानको धारा नपढेको र नबुझेको अध्यक्ष वा सभापति छैनन् । कांग्रेसले हामीलाई थाङ्नामा सुताउछ खोज्छ । आउन यहाँ बसौं छलफल गरौं ५ बजाऔं अनि प्रधानमन्त्री बनाउँला भनेर छक्काउन खोज्छ भने सबैतिर उसको धन्धा त्यही हो ।’ 

ओलीको यो अभिव्यक्तिले पनि तत्कालै कांग्रेसले केही प्राप्ति गर्ने अवस्था देखिँदैन । तैपनि नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने अभिव्यक्ति दिएकाले यदि त्यस्तो सरकार बन्ने अवस्था आएमा सभामुख कांग्रेसले पाउन पनि सक्न नपाउन पनि सक्छ । 

कांग्रेस संसदीय दलको बैठक सकिने बित्तिकै महामन्त्री गगनकुमार थापाले अहिलेको सरकारले विश्वासको मत नपाउने बताइसकेका छन् । तर सभापति देउवाले शनिबार बिहानै विश्वासको मत दिने नदिने विषयमा निर्णय गर्ने बताउँदा पनि अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने यो सरकारप्रति मौन रहेका छन् ।



नयाँ