arrow

प्रदेशमा जुट्यो सहमति, छिट्टै सार्वजनिक गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
prachanda-gathabandhan-oli-lingden-ravi.jpg

काठमाडौं । सत्ता साझेदार दलहरूको आइतबार बसेको बैठकले प्रदेश सरकार गठन सम्बन्धी सहमति गरेको छ। आइतबारको बैठकले सात वटै प्रदेशका प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरू बाँडफाँटमा सहमति जुटाएको छ  । तर  दलहरूले औपचारिक रूपमा टुंग्याएका छैनन् ।

एमालेले प्रदेश १, गण्डकी र लुम्बिनी  पाँचै वर्ष सरकारको नेतृत्व गर्नेछ।। कर्णालीमा माओवादीले पाँचै वर्ष नेतृत्व गर्नेछ। बागमती र सुदूरपश्चिममा एमाले- माओवादीले सरकार चलाउने र अढाई वर्षपछि फेरिनेछ । मधेसमा सुरुमा जसपा र पछि जनमतले सरकारको बन्नेछ ।

माओवादी, राप्रपा र जसपाका सांसदहरूले समर्थनमा आइतबारै प्रदेश १ मा एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् । यता बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका शालिकराम जमकट्टेल बन्ने भएका छन् । बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले बागमतीमा पहिलो चरणमा माओवादीले सरकारको नेतृत्व गर्ने सहमति भएको हो । प्रदेशमा माओवादी र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएको छ ।

गण्डकीमा एमाले संसदीय दल नेता खगराज अधिकारी पाँचै वर्षका लागि मुख्यमन्त्री बन्ने भएका छन्। लुम्बिनीमा एमालेका नेता लीला गिरी मुख्यमन्त्री हुनेछन्।कर्णालीमा माओवादीका राजकुमार शर्मा पाँचै वर्षका लागि मुख्यमन्त्री हुँदै छन्।

सुदूरपश्चिममा सरकारको नेतृत्व पहिलो चरणमा एमालेका राजेन्द्रबहादुर रावलले गर्ने छन् भने माओवादीका खगराज भट्ट अढाई वर्षपछि मुख्यमन्त्री बन्नेछन् । 

 प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूबीच सङ्घीय र प्रादेशिक तहमा सत्ता साझेदारीको प्याकेजका बारेमा छलफल भएको थियो । सत्ता साझेदारीका बारेमा मूलभूत रूपमा सहमति जुटेको र शीर्ष तहमा समझदारी कायम गरी छिट्टै सार्वजनिक गर्ने पनि बैठकले निर्णय गरेको छ । 

बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने र छिट्टै औपचारिक रूपमा सार्वजनिक गर्नेसमेत निर्णय गरेको छ ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतको सहभागिता रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ