- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वका धनी कलाकारको सूची सार्वजनिक भएको छ । वर्ल्ड अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको धनाढ्य कलाकारहरूको सूचीमा टम क्रुज भन्दा शाहरुख खान अगाडि रहेका छन् ।
सूचीको आठ कलाकारमध्ये ६ जना अमेरिकाका छन् । यसबाहेक एक भारतीय र एक चिनियाँ कलाकारलाई स्थान दिइएको छ । स्ट्याटिस्टिक्सका अनुसार सबैभन्दा धनी अभिनेता जेरी सेनफिल्ड हुन्। यी अमेरिकी हास्य कलाकारको कुल सम्पत्ति एक अर्ब डलर छ।
योसँगै अमेरिकी फिल्म उद्योगका हास्य कलाकार, फिल्म निर्माता र पटकथा लेखक टायलर पेरीको नाम सूचीमा दोस्रो नम्बरमा छ । उनको सम्पत्ति पनि एक अर्ब डलर रहेको अनुमान गरिएको छ ।
धनी अभिनेताको सूचीमा ‘द रक’ नामका चर्चित अभिनेता ड्वेन जोन्सन तेस्रो स्थानमा छन् । ५० वर्षीय अभिनेताले कमाइको हिसाबले धेरै दिग्गजहरूलाई पछाडि छोडेका छन् । कुस्तीबाट करियर सुरु गरेका ड्वेन जोन्सन अचानक फिल्म उद्योगतिर लागे र हलिउडमा ठूलो नाम बने । उनको कुल सम्पत्ति ८० करोड डलर छ।
भारतीय अभिनेता शाहरुख खान विश्वको सबैभन्दा धनी अभिनेताको सूचीमा चौथो स्थानमा छन् । शाहरुख तेस्रो नम्बरमा रहेका ड्वेन भन्दा केही पछाडि छन्। टिभी सिरियलबाट आफ्नो करियर सुरु गर्दै आज बलिउडका बादशाह बनेका शाहरुख खानको कुल सम्पत्ति ७७ करोड डलर छ ।
मिशन इम्पोसिबल सिरिजका अभिनेता टम क्रुज शाहरुख खानपछि धनी कलाकारको सूचीमा छन् । क्रुज ६२ करोड डलरको कुल सम्पत्तिका साथ सूचीमा पाँचौँ नम्बरमा छ।
चिनियाँ अभिनेता ज्याकी च्यान विश्वको छैटौं धनी अभिनेताको रूपमा परेका छन् । ज्याकी च्यानको कुल सम्पत्ति ५२ करोड डलर छ।
अमेरिकी अभिनेता र ओशन इलेभेन अभिनेता जर्ज क्लुनी ५० करोड डलरको सम्पत्तिसहित सातौँ धनी अभिनेता हुन्। यसबाहेक रोबर्ट डी निरो ५० करोड डलरसहित आठौँ नम्बरमा छन् ।