arrow

महालक्ष्मीको प्रिय दिनमा यस्तो हुनेछ राशिफल

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ पुष २९ शुक्रबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ पुस २९ गते शुक्रबार, इस्वीसंवत जनवरी १३ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार माघकृष्णपक्षको सप्तमी तिथि रहनेछ ।

नक्षत्रमा उत्तराफाल्गुनी, विष्कुम्भादि योगमा शोभन, करणमा वणिज, आनन्दादि योगमा गद रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । दिनमान २६ घटि ११ पला अर्थात १० घण्टा ३२ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५८ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः२८ बजे हुनेछ ।

आजको राशिफल

मेष : आजको दिन गोचर विद्यार्जनमा सकारात्मक छ । विद्यार्थीका लागि दिन बढी उपयोगी रहनसक्ने छ । प्रवचन संभाषण क्षेत्रको पेशा हुनेहरुको लागि पनि उपलब्धि मूलक हुनेछ । यो राशि हुने अन्य सर्वसाधारणको लागि पनि बुद्धिविवेकमा बृद्धि हुने तथा त्यसको सदुयोग गर्न पाइने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित हुने तथा प्रशंसा मिल्नेछ । सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । व्यवसायमा प्रगति र आर्थिक लाभको योग छ । नयाँ प्रेमसम्बन्धको साइत जुर्न सक्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्गको उपयोगिता शुभप्रद हुनेछ भने शिक्षा क्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

वृष : आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्नपर्ने ग्रहगोचर परेको छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकिर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना भएकोले बैठक आदिमा नया विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले संघर्षबाट केही लाभ भने गर्नसकिने छ र सफलता पनि मिलनसक्ने छ । आमा वा आमासमानकी मातृशक्तिको आर्शिवाद श्रद्धाभक्ति आज यहाँको लागि उपयुक्त हुनेछ ।

मिथुन : आजको दिन ग्रहको केही अबरोधको बाबजुतपनि पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन हुने छ । मानमर्यादा गर्नुपर्ने व्यक्तित्त्वलाई खुशी बनाउनु तथा उहाँहरुबाट आर्शिवाद लिने गर्नुले ग्रहदोष न्यून भई महत्त्वपूर्ण काम फत्ते गर्न मद्दत हुनेछ । सामान्य दैनिकीको पक्षमा ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । कामकार्यमा रुचि बढ्ने छ । स्वजनसँग भेटघाट हुने र सहयोग पाइने छ । प्रतिस्पर्धा जन्य काममा पनि अग्रता हासिल हुनेछ । आज यहाँलाई तीन अंक र हरियो रङ्गको प्रयोग बढी फापसिद्ध बन्नसक्ने छ भने माँ इन्द्रायणी एवं भैरवदेवको सेवा आराधनाले भाग्यबृद्धि गर्नेछ ।

कर्कट : आजको दिन सकारात्मक लिनसकिन्छ । तथापि मुख्य भनिएको काम प्रभावित हुनसक्ने गोचर स्थिति छ तसर्थ काम हुनुपूर्व फुर्ति नगरेकै उचित हुनेछ । अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा विवाह आदि कुनै माङ्गलिक शुभकार्य सम्पादन हुने वा प्रसङ्ग चल्नसक्ने छ तथा नयाँ कुटुम्बिक सम्बन्ध विस्तार हुनसक्ने सम्भावना देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई केही आर्थिक लाभ हुने तथा बैंकब्यालेन्स बढ्ने छ । समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोलीवचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने तथा उत्साह बढ्ने दिन छ । ग्रह अबरोधलाई न्यूनिकरण गर्न भगवान श्री हनुमानवीरको स्तुति गर्नु उपयुक्त हुनेछ ।

सिंह : आजको दिन ग्रहको केही बाधाअबरोधको बाजुतपनि ईज्जत तथा मानप्रतिष्ठा बढ्ने खालको छ । भौतिक उन्नति हुने तथा सुखसन्तोष मिल्ने योग परेको छ । तथापि अपेक्षित मुख्य कार्यमा केही अड्चन आउनसक्ने देखिएको भने छ । बाँकी जनव्यवहारमा ग्रहगोचरको प्रभाव सामान्य नैै देखिएको छ । व्यवसायिक लाभ प्राप्त हुने र स्वजनहरुबाट प्रोत्साहन मिल्नसक्ने छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग शुभ रहनेछ भने बाधा अड्चन निवारणको लागि इष्टदेवको श्रद्धाभक्ति तथा साधना बढाउनु उपयुक्त हुनेछ ।

कन्या : आजको दिन अनपेक्षित रुपमा विभिन्न खालका अपजशको सामना गर्नपर्ने गोचरीय स्थिति देखिएको छ । शत्रुहरुको चक्रव्यूहमा परिन पनि सक्छ सावधानिपूर्वक जनव्यवहार गर्नुपर्ला । नखाएको बिष पनि लाग्नसक्ने खतरा छ । बडो संहालिएर व्यवहार गर्नुपलाई । बुद्धिविवेकले काम नगर्ने, खर्च बृद्धि हुने, गर्जोटार्न धौधौपर्ने र नहुनेकाममा मनजाने मति आउनसक्ने छ । अरु खाइस बुद्धि आफू खाईस रीस भनेजस्तो पर्नसक्ने छ । अधिक परिश्रमले मात्रै थोरैलाभ हातपार्न सकिएला तथापि मनबुद्धिलाई संयम गरी स्वकर्ममा रतरहनाले सम्भावित अनिष्टको प्रभाव हटाउन सकिनेछ । माँ सन्तोषी र भैरवदेवको स्तुति आज तपाईको लागि उपयुक्त हुनेछ ।

तुला : आजको दिन सकारात्मक देखिन्छ । आयआम्दानी बढ्ने तथा उद्यमव्यवसायको विकास हुनेछ । सामान्यतया व्यवसायिक कामकार्य तथा पेशामा सकारात्मक विचारपूर्वक अघि बढ्नेको लागि दिन उपलब्धिमूलक रहनेछ । आफन्तीहरुसँग भेट्घाट हुन र औपचारिकता निर्वाह गर्न पर्नसक्ने छ । स्वजनहरुबाट साथसहयोग पनि मिल्न जाने तथा शुभसमाचार सुन्न पाइने छ । सन्तानको पक्षबाट पनि सन्तोषप्रद उपलब्धि मिल्नेछ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने माँ भुवनेश्वरीको सेवामा भक्तिभाव प्रकट गर्नु शुभप्रद हुनेछ ।

वृश्चिक : आजको दिन ठूलो अपेक्षा हुँदा हुँदैपनि सानो उपलब्धिले चित्त बुझाउन पर्नेछ । त्यस्तै मानसम्मान तथा उच्च संपर्क विस्तारको सम्भावना भएपनि ग्रहको केही अबरोध देखिएको छ, तथापि केही उपलब्धि भने हुनेछ । केही हद्सम्म सम्मानित स्थान प्राप्त हुनेछ, औकात अनुसारको जिम्मेवारी लिनु ठिकै पनि हुनेछ । व्यवसायिक उन्नति र आर्थिक लाभ हुनेछ । कार्ययोजनाको बारेमा छलफल हुने कुरालाई ग्रहले प्रसय दिइरहेको देखिन्छ तसर्थ कार्यको भावी रेखाङ्कन हुनसक्ने छ । रातो रङ्ग, एक अंकको छनौट आज तपाईलाई उपयुक्त हुनेछ भने ग्रहको अबरोधलाई निवारणको लागि माँ इन्द्रायणी देवीको साथमा भैरवदेवको सेवा आराधना तथा स्तुति हितकर हुनेछ ।

धनु : आजको दिन सात्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनहरुसँगको भेटघाट र योजनासंवादको पनि स्थितिलाई गोचरले देखाइरहेको छ । व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । अनुकूलतापूर्ण वातावरण सृजना हुनाले साहस उमङ्ग र कार्यमा रुचि पनि बढेर आउने छ । सम्मानित रुपको निमन्त्रणा मिल्ने तथा औपचारिक कार्यक्रम आदिमा सरिक हुनपाइने छ । आँटे ताकेका तथा गर्न खोजेर पनि थातिरहेको केही महत्त्वपूर्ण इष्टकार्य पूर्णहुनसक्ने छन् भने केही काम अघि बढ्नेछ । ईज्जत प्रतिष्ठा एवम् कान्ति बढ्नेछ ।

मकर : आजको दिन ग्रहगोचर त्यति सहज मान्न अल्लि नसकिने छ । स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने र औषधोपचारजन्य विषयले खर्च बढाउनसक्ने छ । कामकार्यमा पनि अप्रत्यासित बाधाब्याबधान आइलाग्ने तथा ठूलो श्रम खर्च गर्नुपर्ने हुनसक्ने छ । ईज्जत-प्रतिष्ठामा चुनौती थपिनसक्ने छ, विरोधिपक्षसँग पनि सावधानी रहनु पर्नेछ । मानसिक चञ्चलता र वैगुणी प्रेमसम्बन्धको यादगारले सताउनसक्ने छ । तथापि यावत प्रतिकूलताको बाबजुत खासै सोँचमा नपरेको क्षेत्रबाट आकस्मिक रुपमा उपलब्धि एवं लाभ हुन गई केही हद्सम्म सन्तोष गर्न पाइनेछ । आज तपाईँले कुमारी देवीको दर्शनभक्ति गर्नु शुभदायक हुनेछ ।

कुम्भ : आजको दिन आमोद-प्रमोद तथा विलासवृतिको चाहना बढ्ने ग्रहगोचर परेको छ । कसैकसैलाई गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि छ होस पुर्याउनु होला, अन्यथा पछुतो हुन सक्नेछ । व्यवसाय तर्फ उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ । विवाह प्रस्तावको विषयमा विशेष विचार पुर्याउन जरुरी हुनेछ । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने माँ इन्द्रायणीको श्रद्धाभक्ति गर्ने र युवतीलाई सेतो वस्तु उपहार दिनुले सम्भावित झमेला तथा अबरोध कम गर्न मद्दत हुनेछ ।

मीन : आजको दिन ग्रहगोचरको स्थितिलाई तुलनात्मकरुपमा सुधारोन्मुख मान्न सकिन्छ, तथापि मुख्यकामको गन्तव्यचुम्न कठिन देखिएको छ । हौंस्याहटको कारण बन्ने कामपनि बिग्रने हो कि भन्ने भय पनि देखिएको छ ख्याल पुर्याउनु होला । उपर्युक्त केही ग्रहदोषको बाबजुत पनि बल एवम् साहस बढ्ने छ । उन्माद्लाई संयम गर्न सकेको खण्डमा केही भौतिक कर्महरु संपादन हुनेछन् । सर्तमा लचकता अप्नाएर विपक्षीसँग सम्झौता हुनपनि सक्नेछ । वातवायु एवम् स्नायु तथा नशासँग सम्बन्धित विमारको सम्भावनालाई नकार्न भने सकिन्न । तसर्थ आहारविहारमा ध्यान दिन जरुरी देखिन्छ । ग्रहको दुष्प्रभावमा कमि आओस भन्ने कामना गरी भैरवदेवको उपाशना गर्नु आज तपाईको लागि हितकर हुनेछ ।
 

साइतः सूर्य धनु चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिम दशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः५५ बजेदेखि      ०८ः१४ बजेसम्म    चर बेला
बिहान ०८ः१४ बजेदेखि      ०९ः३३ बजेसम्म    लाभ बेला
बिहान ०९ः३३ बजेदेखि      १०ः५३ बजेसम्म     अमृत बेला
बिहान १०ः५३ बजेदेखि       १२ः१२ बजेसम्म    काल बेला
बिहानमा १२ः१२ बजेदेखि       १ः३१ बजेसम्म   शुभ बेला
दिनमा १ः३१ बजेदेखि        २ः५० बजेसम्म      रोग बेला
दिनमा २ः५० बजेदेखि        ४ः०९ बजेसम्म     उद्वेग बेला
साँझ ४ः०९ बजेदेखि        ५ः२८ बजेसम्म     चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।


राहुकाल समय : बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ