arrow

कांग्रेसले दिएको विश्वासको मतले पग्लिँदै प्रचण्ड, एमालेको एकल वर्चस्वलाई तोड्ने सङ्केत

राष्ट्रपति निर्वाचनका लागि कांग्रेससँग छलफल गर्ने मुडमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
prachanda-deuba-dhumbarahi-meet-pm.jpg
फाइल तस्विर।

काठमाडौं । शनिवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल निध्याएपछि दिउसो सञ्चार माध्यमका केही सम्पादकहरूसँग भेटघाट गरेर एमालेको एकल वर्चस्वलाई कमजोर बनाउने सन्देश दिएका छन् । कांग्रेसबाट फुत्किएर प्रधानमन्त्रीका लागि एमालेको ‘वश’मा पुगेका प्रचण्ड यति बेला कांग्रेसले दिएको विश्वासको मतले पग्लिँदै एमालेको एकल वर्चस्वलाई तोड्ने सङ्केत गरेका हुन् । 

शनिवार बिहान एमाले अध्यक्ष ओलीसँग एकाध दिनमै मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल गरेपछि दिउसो केही सम्पादकहरूलाई बोलाएर राष्ट्रपतिको निर्वाचनमा कांग्रेस लगायतका दलहरूसँग पनि छलफल गर्ने भनेर एमालेलाई शङ्काको लाभ दिएका छन् । 

सोमबार राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरूको सर्वदलीय बैठक बोलाइएको बताउँदै सबै पक्षसँग छलफल गर्ने सङ्केत गरे । उनले कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति, सभामुखलगायतका पदमा के गर्ने भनेर ऊसँग पनि छलफल गर्नुपर्ने आफ्नो दायित्व भएको पनि बताएका थिए  । 

कांग्रेस प्रतिपक्ष हुन्छ भन्ने कल्पना गरिएको तर कांग्रेसले पनि समर्थन गरिसकेपछि मेरो पनि जिम्मेवारी हुने भयो यसबाट म बाहिर जान नसक्ने भए भन्ने अभिव्यक्ति दिएपछि एमालेका लागि एक प्रकारले चुनौती नै खडा गरिदिए । तर एमालेले केन्द्र देखिनै एउटा सहमति भएर सरकार निर्माण भएकाले यति बेला राष्ट्रपति यसको भागमा वा उसको भागमा भन्ने म्यासेज दिन जरुरी नभएको जनाएको छ । 'गठबन्धन सरकार बन्दाको जे अवस्था छ त्यही अवस्थाले सरकार निर्माण भएको हो, शक्ति बाँडफाँड पनि त्यही अनुसार भएको छ’, एमालेमा उपमहासचिव प्रदीप ज्ञवालीले भने । उनका अनुसार कांग्रेसले सरकारलाई विश्वासको मत दिनु फरक विषय हो । 

एमालेले गठबन्धन बनाउँदा नै आफू हाबी हुनेगरी बनाएको थियो । खासगरी प्रचण्डलाई प्रधानमन्त्री दिएपनि सरकारलाई सञ्चालनमा सहयोग गर्ने भन्दै उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक एमाले अध्यक्ष ओली भएका थिए । ओलीकै संयोजकत्वमा राजनीतिक संयन्त्र बनेको थियो । 

त्यसै गरी सरकारको न्यूनतम साझा कार्यक्रमको संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल बनेका थिए । जसले गर्दा सरकारमा रहेका अन्य दलहरू एमालेको छाँयामा बसेर काम गर्नुपर्ने परिस्थितिको निर्माण हुँदै थियो । तर सरकारले विश्वासको मत लिने बेलामा कांग्रेसले निर्वाह गरेको भूमिकाले प्रचण्डलाई सोच्न बाध्य बनाएको छ ।

‘पहिला एउटा परिस्थिति थियो, प्रचण्डले प्रधानमन्त्री पाउँदैनन् कि भन्ने अवस्थाबाट बालकोट पुगिएको हो, अहिले कांग्रेस पनि परिस्थितिलाई नियाल्ने अवस्थामा छ, गठबन्धन दाँया बाँया भएमा कांग्रेसले यही सरकारमा पनि सहभागी हुनसक्छ यसर्थ राष्ट्रिय सहमतिको एउटा मार्ग पनि बन्नसक्छ, उता एमालेको दबदबा सहनु पनि पर्दैन’, माओवादीका एक नेताले भने । 

उनका अनुसार नेकपा एसका अध्यक्ष माधव नेपालले पनि कांग्रेसलाई राष्ट्रपति दिएर जाँदा राम्रो हुन्छ भनेका कारण प्रचण्ड छलफल गर्न सकारात्मक बन्दै गएका हुन् ।



नयाँ