arrow

यती विमान दुर्घटना: पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच आयोग गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
cabinet-meeting-urgent.jpg

काठमाडौं। सरकारले पोखरामा आज बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो। 

आयोगको संयोजकमा पूर्व सचिव नागेन्द्र घिमिरे रहेको सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इन्जिनियर एकराजजङ्ग थापा रहेका छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । 

आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । प्रतिवेदन प्राप्त भए लगत्तै सरकारले सुझाव कार्यान्वयनको व्यवस्था मिलाउने प्रवक्ता पौडेलले बताए । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ