arrow

चिनियाँ राजदूत भेटे लगत्तै प्रचण्ड बालकोटमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
Prachanda-Oli-Balkot.jpg

काठमाडौं। चिनियाँ राजदूतलाई बालुवाटारमा भेटे लगत्तै प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन्। दुई नेता बीच अहिले छलफल जारी रहेको बताइएको छ। 

पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् बिस्तारको गृहकार्यमा रहेका छन् । आइतबार साँझ पनि दुईबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् बिस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ । आउँदो बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको देखिएको छ । 

पछिल्लो समय मन्त्रीमण्डल विस्तारका बारेमा छलफल भइरहे पनि कुनै निर्क्योल निस्किन सकेको छैन। सभामुख र राष्ट्रपतिका बारेमा नेपाली कांग्रेससँग पनि छलफल गरिने प्रचण्डले बताएपछि गठबन्धनमा केही शङ्काहरू उत्पन्न हुन थालेको बताइएको छ। 

मन्त्रीमण्डल विस्तारका बारेमा सामाजिक सञ्जाल र सञ्चार माध्यमहरू मार्फत विभिन्न टीकाटिप्पणी सुरु भएको छ। गठबन्धनमा रहेका पार्टीहरूलाई प्रश्न तेर्सिएको छ मन्त्रीमण्डल विस्तारका बारेमा भने कांग्रेसले किन विश्वासको मत दियो भनेर राजनीतिक कारण खोज्न विश्लेषकहरू व्यस्त रहेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले  शिष्टाचार भेट गरेका थिइ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन गरेका थिए  ।

 



नयाँ