arrow

सांसद सुनिल शर्माको सक्रियताले गोठगाउँमा अस्पतालको सेवा विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
sunil-sharma-new-hospital-purbanchal.jpg

विराटनगर। मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहल र दबाएका कारण गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयले अस्पताल सेवा विस्तार गरेको छ। विश्वविद्यालय परिसरमा मङ्गलवार कार्यक्रम गरेर अस्पतालको सेवा बिस्तार शुभारम्भ गरिएको हो।

कार्यक्रममा काँग्रेस नेता एवं सांसद डा.शेखर कोइराला, सांसद डा.शर्मा, सुन्दरहरैंचाका मेयर केदारप्रसाद गुरागाईँ लगायतले गमलामा पानी हालेर संयुक्त रूपमा अस्पताल सेवा विस्तारको शुभारम्भ गरेका हुन्। पूर्वाञ्चल विश्वविद्यालयले यसअघि अस्पताल सेवा सञ्चालन गरेको भए पनि व्यवस्थित थिएन।

अस्पतालले आंशिक रूपमा मात्र सेवा दिँदै आएको थियो। डाक्टर बस्ने टुङ्गो नहुँदा बिरामीहरूले उपचार नपाएको गुनासो गर्दै आएका थिए। तर, अब दैनिक ८ घण्टा अनिवार्य रूपमा अस्पताल सञ्चालन गर्ने गरी अस्पताल सेवा विस्तार गरिएको हो। जाडो सिजनमा बिहान १० देखि ४ र बाँकी समय बिहान ९ देखि ५ बजेसम्म अब अस्पताल खुल्नेछ। पहिले आंशिक रूपमा मात्र बस्दै आएका डाक्टरहरू अब अनिवार्य रूपमा दैनिक ८ घण्टा अस्पतालमा बस्नेछन्।

अस्पतालको सेवा विस्तार गर्दै त्यहाँ मेडिकल कलेज सञ्चालन गराउन सांसद डा.शर्माले पहल गरिरहेका छन्। पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने विषयलाई चुनावी एजेण्डानै बनाएर आएका सांसद शर्मा निर्वाचित भए देखिनै यो विषयमा लागि परिरहेका छन्। डा.शेखर कोइराला लगायतले उनलाई साथ दिइरहेका छन्। पहिलो चरणमा माघबाट सेवा विस्तार गर्ने उनले यसअघि नै घोषणा गरेका थिए, सोही बमोजिम सेवा विस्तार गरिएको हो।

अब, दोस्रो चरणमा २४ सै घण्टा अस्पताल चलाउने र तेस्रो चरणमा आगामी शैक्षिक सत्रदेखि नै मेडिकल कलेज सञ्चालन गर्ने डा.शर्माको योजना छ। पूर्ण कालिन अस्पतालसहित मेडिकल कलेज सञ्चालन हुँदा सो क्षेत्र बासीलाई धेरै फाइदा पुग्ने भएकाले जसरी पनि मेडिकल कलेज सञ्चालन गर्ने गरी लागिपरेको सांसद शर्मा बताए।

तर, यो अभियान असफल पार्न जिम्मेवार व्यक्तिहरू नै लागिपरेको उनको आशङ्का गरेका छन्। मन्तव्यका क्रममा पनि उनले यो विषय खुलासा गरे।

तोकिएको समयमै अस्पताल सञ्चालनका लागि आग्रह गर्दा नलागे पछि विश्वविद्यालय व्यवस्थापनका पदाधिकारीहरू सँग हात हालाहाल बाहेक सबै ढङ्गको झगडा भएको र अन्ततः कुरा मिलेर यो अवस्थासम्म आइपुगेको उनले बताए। ‘जति सजिलो ढङ्गले बाहिर बुझिएको छ, त्यत्ति सजिलो गरी हामी यहाँसम्म आइपुगेका छैनौँ,’ सांसद शर्माले भने, ‘अस्पताललाई पूर्ण कालिन बनाएर मेडिकल कलेज चलाउन एक्लैको पहलले मात्र सम्भव छैन, सबै जना जुट्यौँ भने सम्भव छ, सबै जना लागि परौँ।’

यसअघि पनि उनले मेडिकल कलेज सञ्चालन गर्न असहयोग गरिएमा अस्पताल अगाडि टेन्ट टाँगेर धर्नामा बस्ने चेतावनी समेत दिएका थिए। उनले अस्पताल व्यवस्थापन र कर्मचारीहरूलाई पनि बेग्ला बेग्लै छलफल गरेर मेडिकल कलेज सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए। यसको जस आफूलाई नचाहिएको दाबी गर्दै आएका उनले अन्य राजनीतिक दललाई पनि सहयोगका लागि अपिल गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ