arrow

गण्डकी प्रदेश सरकारले केही दिनभित्रैमा पूर्णता पाउँछ : प्रवक्ता सुन्दास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
Sita Sundas.jpg

पोखरा । गण्डकी प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएको ११ दिन बितिसक्दा मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँटसमेत भएको छैन ।

मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ कुनै टुङ्गो छैन । सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले केही दिनभित्रैमा सरकारले पूर्णता पाउने बताइन् ।

 “मन्त्रालयको संख्या घटाएर मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ, मुख्यमन्त्रीज्यूले शुरुदेखि नै यसैमा जोड दिइरहनुभएको छ”, उनले भनिन् ।

सत्तारुढ दलबीच मन्त्रालय घटाउने र मन्त्रीको जिम्मेवारी बाँडफाँटका विषयमा छलफल भइरहेको प्रवक्ता सुन्दासले उल्लेख गरिन् ।

दुई/तीन दिनभित्रैमा यो विषय टुङ्गोमा पुग्ने उनको भनाइ छ । हाल रहेका १२ मन्त्रालयलाई घटाएर सातमा पुर्याउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तयारी छ ।

यसअघि प्रदेशसभाका उपसभामुखको निर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि त्यसो हुन सकेन । उपसभामुख निर्वाचित भएको पनि चार दिन बितिसकेको छ ।

मन्त्रालयको जिम्मेवारी नतोकिँदा मन्त्रीहरू कामविहीन स्थितिमा छन् । विभागीय मन्त्री नहुँदा मन्त्रालयका कामकारबाही पनि प्रभावित हुने देखिएको छ ।

गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

बिनाविभागीय मन्त्रीको हैसियतामा नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान, नेकपा (एमाले) बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन् । 



नयाँ