arrow

तीन पार्टीले थाले ओलीविरुद्ध मोर्चाबन्दी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
oli-prachanda-nepal-final.jpg

काठमाडौं । सत्तामा रहेको पार्टीसँग सत्ता बाहिर रहेका दुई पार्टीले मोर्चा निर्माण गर्ने तयारी थालेका छन् । सरकारमा रहेको माओवादी केन्द्रसँग प्रधानमन्त्रीलाई विश्वास दिएको नेकपा एकीकृत समाजवादी र सरकारलाई समर्थन गरेको तर सरकारमा सहभागी नभएको जनता समाजवादी पार्टीले एकता गर्ने सम्मको तयारी थालेका छन्।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच गोप्य वार्तापछि प्रक्रिया शुरु भएको बताइएको छ । तीनै पार्टीका अध्यक्षबीच गोप्य छलफलपछि वार्ता टोली अहिले सक्रिय रहेका छन् । एकताका लागि पार्टीका दोस्रो तहका नेताहरूलाई अध्यक्षले खटाएका छन् ।  

एकता प्रक्रियाका लागि आइतबार एसका महासचिव बेदुराम भुसाल, उपमहासचिव विजय पौडेल र प्रकाश ज्वालाले जसपाका अशोक राई र राजेन्द्र श्रेष्ठलाई भेटेका थिए । बैठक एसको केन्द्रीय कार्यालय तीनकुनेमा भएको थियो ।

त्यसपछि एसका तीनै नेता पेरिसडाँडा पुगेर माओवादीका नेतासँग भेट गरेका थिए । बैठकमा माओवादीका नेता कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत सहभागी थिए । माओवादी र एसले देउवा नेतृत्वको सरकारकै समयमा एकताका लागि एकता संयोजन समिति बनाएको थियो ।

एमाले छोडेका माधव नेपालले एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएका छैनन् । सरकारमा अध्यक्ष केपी ओलीसँगको दल एमाले प्रमुख रहेकाले उनी झस्किएका छन् । तर उनको पार्टीको प्रधानमन्त्री रहेका प्रचण्डसँग सम्बन्ध सुमधुर रहेको छ ।

यता पछिल्लो समय सरकारमा सहभागी र सरकार बाहिर रहेका दल उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एमाले अध्यक्ष ओलीसँग खासै सन्तुष्ट छैनन् । जसपाले ओली सामु असन्तुष्टि पोखि सकेको छ । मन्त्रिपरिषद्मा भागबन्डा नमिलेपछि सरकारलाई समर्थन गरेको जसपा सरकारमा सहभागी भएको छैन । अध्यक्ष ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रले सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको जसपाले ठहर नै गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ