arrow

गण्डकी प्रदेश :

माओवादीले टुङ्गायो मन्त्रीको नाम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
gandaki-province-pradesh.jpg

पोखरा । नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारमा पठाउने मन्त्रीको नाम टुङ्गो लगाएको छ । प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १२ बाट सातमा पुर्‍याएपछि माओवादीले  दुई मन्त्री पाउँदै छ ।

माओवादी केन्द्र ले हरिबहादुर चुमान र  रेशमबहादुर जुग्जाली ‘सुविन’लाई प्रदेश सरकारमा पठाउँदै छ ।  माओवादी केन्द्रबाट संसदीय दलको नेता रहेका चुमान यसअघि नै मन्त्रीमा नियुक्त भइसकेका छन्।

म्याग्दीका प्रदेशसभा सदस्य जुग्जाली लाई गण्डकी प्रदेश सरकारमा पठाउने  सोमबार बसेको संसदीय दलको बैठकले निर्णय गरेको छ ।  जुग्जाली म्याग्दीको प्रदेशसभा क्षेत्र (२)बाट निर्वाचित भएका थिए ।

उनन्चालीस वर्षीय उनी माओवादी केन्द्रको म्याग्दी जिल्ला संयोजकसमेत छन् । मालिका गाउँपालिका–७ का जुग्जाली विसं २०७४ को स्थानीय तह चुनावमा वडाध्यक्षमा निर्वाचित भएका थिए । जुज्जाली सहिद परिवारको सदस्य छन् ।

पार्टीले जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरे पनि कुन मन्त्रालय पाउने भन्ने अझै टुङ्गो नलागेको माओवादी केन्द्रले जनाएको छ । सो पार्टीबाट सुशीला सिम्खडा र माओवादीको चिह्नबाट गोरखामा चुनाव जितेका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा पनि मन्त्रीका लागि आकाङ्क्षी देखिएका थिए ।

सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले मन्त्रिपरिषद्ले अब छिट्टै पूर्णता पाउने बताइन् । “कुन मन्त्रालय कसले पाउने भन्ने विषय अझै छलफलमै छ, अब जतिसक्दो चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ”, उनले भनिन् ।


गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विना विभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।बिना विभागीय मन्त्रीको हैसियतमा माओवादी केन्द्रका हरिबहादुर चुमान, नेकपा (एमाले)बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन् । एमालेले थप दुई मन्त्री सरकारमा पठाउनेछ । मन्त्रालय घटाउने निर्णयसँगै एमाले र माओवादीका गरी अब तीन मन्त्री मात्र नियुक्त हुनेछन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटमा मुख्यमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता चाँडै दिने बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ