arrow

माओवादी संसदीय दलको प्रमुख सचेतकमा सिम्खडा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
Sushila simkhada.jpg

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिम्खडा चयन भएकी छन् ।

सो दलको बैठकले गोरखाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा निर्वाचित सिम्खडालाई प्रमुख सचेतक चयन गरेको हो ।

सचेतक सिम्खडाले विसं २०४६ मा विद्यार्थी सङ्गठनमा आबद्ध भएर राजनीति शुरु गरेकी थिइन् । माओवादी जनयुद्धमा उनी लामो समय भूमिगत भएकी थिइन् ।

उनी हाल पार्टीको केन्द्रीय सदस्यसमेत हुन् । सिम्खडा गोरखाको भीमसेन थापा गाउँपालिका-४ स्थायी निवासी हुन् । प्रमुख सचेतक सिम्खडाले दलका तर्फबाट गर्नुपर्ने कामसहित संसद्लाई प्रभावकारी बनाउनेतर्फ लाग्ने बताइन् ।

साठी सदस्सीय गण्डकी प्रदेशसभामा माओवादीका आठ सांसद छन् । गोरखा-१ (१)बाट प्रत्यक्ष निर्वाचित कृष्णप्रसाद धिताल प्रदेशसभाको सभामुख निर्वाचित भएका छन् । 

यसैगरी प्रदेश सरकारमा माओवादीबाट दुई मन्त्री नियुक्त भएका छन् ।

संसदीय दलका नेतासमेत रहेका तनहुँबाट प्रत्यक्ष निर्वाचित हरिबहादुर चुमानले भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

यसैगरी म्याग्दीका रेशमबहादुर जुग्जालीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिएका छन् । माओवादीले अब दलको उपनेता चयन गर्न बाँकी छ ।



नयाँ