arrow

प्रचण्ड–नेपालबीचको त्यो दुईघण्टे बालुवाटार भलाकुसारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १४ शनिबार
prachanda-madhavs.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीको कामले रौतहट पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच दुई घण्टा छलफल भएको छ । 

पार्टी कामले रौतहट पुगेका अध्यक्ष नेपाल शुक्रबार कार्यक्रम छाडेर काठमाडौं आएका थिए । उनले पार्टी कार्यकर्तालाई प्रधानमन्त्रीको फोन आयो तुरुन्तै काठमाडौं जानुपर्ने भयो भनेर जनाकारी दिएर आएका थिए । 

काठमाडौं आएपछि तुरुन्तै बालुवाटार पुगेका नेपालले प्रधानमन्त्रीसँग दुई घण्टा बिताएका थिए । माओवादी र नेकपा एसबीच पार्टी एकताको कुरा चलिरहेका बेला उनीहरुबीच कुराकानी भएको थियो । 

माओवादी स्थायी कमिटीको बैठक पनि शुक्रबार नै सकिएको थियो । त्यतिमात्र होइन राष्ट्रपतिको विषयमा माओवादीको बैठकले राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय गरेको थियो । 

उनीहरु बीचको भेटघाटलाई अहिलेसम्म गोप्य राखिएको छ । शुक्रबार काठमाडौं आएका नेपाल शनिबार सप्तरी पुगिसकेका थिए । प्रचण्डसँगको भेटघाटपछि सप्तरी पुगेर नेपालले मुलुकको राजनीति गोलचक्करमा फसेको बताएका थिए ।

अध्यक्ष नेपालले गोलचक्करबाट देश कसरी निस्कने त्यो चिन्ताको विषय भएको बताए । उनले नेतृत्व सत्ता कब्जाको सोचले ग्रसित रहेकोसमेत दाबी गरे । 

‘सत्ता कब्जाको दाउ चलिरहेको छ,’ नेपालले भने, ‘सत्ता कब्जा गर्ने दाउ चलिरहेको छ, सभामुख, राष्ट्रपति कब्जा गर्ने, पछि प्रधानमन्त्री कब्जा गर्ने त्यसपछि राज्यका अन्य निकाय कब्जा गर्ने सोचबाट नेतृत्व ग्रसित छ ।’ 

उनको यो भनाइले माओवादी अध्यक्ष प्रचण्डसँगको सहकार्य नहुने हो कि भन्ने आशंका बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेज भएसँगै सत्तामा नेपाल नेतृत्वको पार्टीलाई ल्याउन कोसिस गर्ने तयारी थियो । 

तर प्रचण्ड र नेपालबीच भएको कुराकानीमा सरकारमा सहभागी हुने विषयमा केन्द्रीत नभइ राष्ट्रपतिको निर्वाचनमा मात्रै केन्द्रीत भएको बुझिएको छ । 

नेकपा एसका एक नेताका अनुसार एमालेसँगको सहकार्यलाई नेकपा एसका अध्यक्ष नेपालले उपयुक्त र सकारात्मक नमानेकै कारण प्रचण्ड र नेपालबीचको कुराकानी सकारात्मक ढंगले अघि बढ्न सकेको छैन । 

दुई नेताहरुबीचमा कांग्रेस वा गैर कांग्रेस को राष्ट्रपति हुने विषयमा छलफल भएको थियो । ‘सबै पद कांग्रेसलाई नै चाहिन्छ भन्ने छैन, राष्ट्रपति पनि चाहिने, प्रधानमन्त्री पनि चाहिने तर अरुको कुरा नगर्ने भएपछि त बिग्रिएको हो अहिले त्यस्तो अवस्था छैन’, एस पार्टीका एक नेताले भने । 

एस पार्टीकै प्रवक्ता जगन्नाथ खतिवडाले दुई नेताको भेटलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । ‘उहाँहरुको भेटघाट सामान्य हो, समसामयीक विषयमा छलफल भयो होला भन्ने मान्नुस् न’, प्रवक्ता खतिवडाले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ