arrow

कांग्रेस किन घटाउन खोज्दैछ कार्यकर्ता ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
congress-party-office-final.jpg

काठमाडौं । हुँदाखाँदाको सत्ताबाट बाहिरिएको नेपाली कांग्रेस अझै पनि कार्यकर्ता घटाउने अभियानमा जुटेको छ । पाँच दलीय गठबन्धनमा रहेर चुनावमा होमिए पनि बहुमत निकाल्न नसकेको कांग्रेसले चुनावमा अन्तर्घात भएको भन्दै कारबाही गर्ने भन्दै पटक पटक समय लम्ब्याउँदै गएको छ । 

२०७४ सालको निर्वाचनमा एक्लै चुनाव लड्दा पाएको समानुपातिकको मतभन्दा तुलनामा गठबन्धनबाट चुनाव लड्दा कम मत पाएको कांग्रेसले अहिले आएर अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म लम्ब्याएको जनाएको छ । 

कांग्रेसले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ १५ सम्मको समय बढाएर माघ मसान्तसम्म तोकिएको कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनाएको छ ।

समितिले यो समय पटक पटक थप गरिसकेको छ । पार्टीले मत कम हुनु र अन्तर्घात किन भयो भनेर गम्भीर छलफल नगरी एकपक्षीय रुपमा अन्तर्घातको नाममा अझै पनि कारबाहीकै नीति लिएको गुनासोसमेत नेताहरुले गर्न थालेका छन् । 

एक पदाधिकारीले हाम्राकुरासँग भने, ‘आफू विरोधीलाई छानीछानी कारबाही गर्नका लागि पटक पटक समय थप गरिएको जस्तो लाग्छ । यसले पार्टीलाई अब हित गर्दैैन ।’

उनले गल्ती भयो भने पनि सुध्रिने अवसर दिएर कांग्रेसलाई मजबुद बनाउनु पर्नेमा जोड दिएका छन् । 

आजीवन कांग्रेसमा बाहेक अन्त कतै नगएका मतदाता पनि पार्टीको निर्देशनमा अन्य पार्टीका उम्मेदवारलाई भोट हाल्न वाध्य पारिएको थियो । 

सोही अनुसार माओवादी केन्द्र, नेकपा एस, राष्ट्रिय जनमोर्चा, लोसपा लगायतका उम्मेदवारलाई कांग्रेसले भोट हालेको थियो । 
 



नयाँ