arrow

राष्ट्रपतिमा राजनीति

प्रचण्डको ‘कोर्स करेक्सन’ ले एमाले सशंकित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
prachanda-oli-baluwatar-2079-10-15.jpg
तस्बिर – फाइल ।

काठमाडौं । अघिल्लो पटक धोका खाएका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको साथ लिएर सरकार बनाए पनि सन्तुष्ट हुन सकेका छैनन् । 

सरकार बनाउने बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले दबाबमा राख्न थालेपछि प्रचण्ड असन्तुष्ट बन्दै गएका छन् । एमालेको दबाबबाट असन्तुष्ट बनेका प्रचण्डले ‘कोर्स करेक्सन’ स्वरुप फागुन २८ भित्र हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोजेर अघि बढ्ने प्रयत्न गर्न थालेका छन् । 

शुक्रबार सम्पन्न माओवादीको स्थायी कमिटी बैठकबाट राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय गराएर एमालेको चंगुलबाट  ‘कोर्स करेक्सन’ गर्न खोजेको संकेत गरेका थिए । 

सभामुख र राष्ट्रपति एमालेलाई दिने, आधा–आधा कार्यकालमा भोलि प्रधानमन्त्री पनि एमालेकै बन्ने अवस्थामा राज्यका सबै संयन्त्र एमालेकै हातमा जाने भएकाले यसबारे सोच्नु जरुरी रहेको भन्दै प्रचण्ड एमालेप्रति सकारात्मक बन्न सकेका छैनन् । 

‘सभामुख गइसक्यो, राष्ट्रपति पनि एमालेको हुने र दुई वर्षपछि प्रधानमन्त्री पनि ओली नै हुने भएकाले त्यसपछि के होला  ? त्यसैले हामीले अहिल्यै गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै माओवादी यसतर्फ सचेत बनेको हो’, माओवादीका एक स्थायी कमिटी सदस्यले भने । 

राष्ट्रपतिमा एमालेले अघि सार्ने उम्मेदवारलाई रोक्न माओवादी केन्द्रले  ‘राष्ट्रिय सहमति’लाई जोड दिएको बताइएको छ ।  प्रधानमन्त्री प्रचण्डले पनि पार्टी स्थायी कमिटी बैठकमा यही कुरामा बढी जोड दिएका थिए । 

माओवादी स्थायी कमिटी सदस्य राम कार्कीले  सबै पार्टीले प्रचण्डलाई विश्वासको मत दिएकाले सोहीअनुसार राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने दायित्व रहेको बताएका छन् ।  

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नेगरी अगाडि बढ्नु पर्ने बताए । उनले कांग्रेसलाई साथमा लिएरै जानुपर्ने भएकाले एउटै पार्टीलाई सबै पद दिन नहुने बताए ।

 ‘राष्ट्रिय सहमतिअनुसार अघि बढ्दा सम्भावित दुर्घटना रोक्न सकिन्छ, र प्रतिनिधिसभा पाँच वर्षसम्म जोगाउन सकिन्छ’,सचिव पौडेलले भने । 

कांग्रेसले नयाँ सरकारको पहिलो अढाइ वर्ष प्रधानमन्त्री दिन नमानेपछि प्रचण्डले पुस १० गते सहकार्य तोडेर एमालेसँग गठबन्धन गरे पनि माओवादीले एमालेलाई दबाबमा राख्न कांग्रेससँग सहकार्य गर्ने संभावना रहेको छ ।   

तर एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमालेबाटै राष्ट्रपति बनाउने सहमतिमा माओवादी केन्द्र पछि नहट्ने दाबी गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा सरकारका लागि दाबी पेस गर्दा राष्ट्रपति र सभामुख एमालेलाई, प्रधानमन्त्री माओवादी केन्द्रलाई दिने सहमतिमा अरु दल पनि राजी भएकाले यसमा दायाँ बाँया नहुने उनले दाबी गरेका छन् । 

‘सरकारको लागि शितल निवासमा दाबी पेस गर्दा प्रधानमन्त्री पद नेकपा माओवादी केन्द्रलाई, एमालेलाई राष्ट्रपति र सभामुख दिने भन्दा अरु दल साक्षी छन् । त्यस आधारमा माओवादी यो सहमतिमा ब्याक हुँदैन’, उपमहासचिव ज्ञवालीले भने ।



नयाँ