arrow
ADVERTISEMENT

कांग्रेस एकढिक्का भए रविलाई चितवनबाट हराएर पठाउँछौं – राजेश्वर खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
rajeshwor-khanal-congress-chitwan-president-2079.jpg

काठमाडौं । नेपाली कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनालले पार्टी एकढिक्का भए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवनबाट हराएर पठाउने दाबी गरेका छन् । 

नागरिकता विवादमा मुछिएपछि रविको सांसद पद खोसिएको थियो । गत शुक्रबार सर्वोच्च अदालतले फैसला सुनाएपछि उनले उपप्रधान तथा गृहमन्त्री, सांसद तथा पार्टीको सभापतिको पद गुमाएका थिए । 

रविकै कारण चितवन २ मा उपनिर्वाचन गर्नुपर्ने भएपछि रवि फेरि चुनाव लडे भने हराएर पठाउने कांग्रेस सभापति खनालले दाबी गरेका हुन् । 

काठमाडौं आएका बेलामा उनले निकटस्थ संचारकर्मीहरुसँगको छलफलका क्रममा आगामी उपनिर्वाचनमा कांग्रेस आन्तरिक किचलोबाट मुक्त भए जोसकैलाई हराउन सक्षम रहेको बताएका हुन् । 

उनले उपनिर्वाचनमा रवि पुनः उम्मेदवार भए हराइदिने स्पष्ट पारेका हुन् । उनले भने, ‘रविको हिजोको जुन क्रेज थियो अहिले सकियो । तपाई आफै मूल्यांकन गर्नुस् । उनकै कारण राज्यको करोडौं रकम खर्च भएको छ । उपनिर्वाचन गर्दा फेरि राज्यले करोडौं खर्च गर्नुपर्ने हुन्छ । अब कुन आधारमा उनलाई मतदाताले भोट हाल्ने ?’

रविले चुनावअघि शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका युग सकिएको भनी दाबी गरिरहँदा आज फेरि ओली र प्रचण्डसँगै मिलेर सरकारमा गएको उदाहरण दिँदै खनालले रविका दिन पनि सकिएको जिकिर गरेका छन् । 

उनले भने, ‘रविलाई अब केका लागि भोट हाल्ने ? हिजो उहाँले ओली, प्रचण्ड र देउवालाई गाली गर्नुभयो । आज नागरिकताका कारणले दोस्रो पटक चुनाव हुँदैछ । उहाँले जितेर आउनु होला । फेरि पासपोर्ट काण्ड होला । फेरि तेस्रो पटक उहाँकै कारण चुनाव गर्नुपर्ला । यो अतिवादबाट मुक्त हुनु जरुरी छ ।’

रविको नियतमाथि खोट रहेको स्पष्ट पार्दै सभापति खनालले भने, ‘उहाँको नैतिकता नागरिकता विवादसँगै सकिएको छ । उहाँले मतदातालाईमात्र हैन देशलाई नै धोका दिनु भएको छ ।’

रविको क्रेज सकिँदै गरेको दृष्टान्त सुनाउँदा जिल्ला सभापति खनालले कांग्रेसभित्रको आन्तरिक किचलो साम्य पार्न जोड दिएका छन् । 

उनले भने, ‘हामीभित्र समस्या छ । यसलाई समाधान गर्नु जरुरी छ । पार्टीले सही उम्मेदवार उठाएर सबैको मन जित्न सक्नुपर्छ । पहिले चितवनकोमात्र प्रतिगठा गाँसिएको थियो होला अब त सिंगो देशको प्रतिष्ठा गाँसिएको छ । कांग्रेस एक हुनुको विकल्प छैन ।’

उनले पुनः भने, ‘रवि आए हराउँछौं । रवि आउँदै गर्दा र कांग्रेस एक ढिक्का भए चुनाव जित्छौं ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ