- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेले भ्रातृ संगठनको महाधिवेशन, अधिवेशनको मिति तय गरेसँगै विद्यार्थी संगठनभित्र नेतृत्वको लागि रस्साकस्सी चलेको छ । लामो समयदेखि रिक्त जनवर्गीय संगठनलाई एमालेले पूर्णता दिँदै गर्दा अखिलभित्र नेतृत्वका लागि रस्साकस्सी चलेको हो ।
अखिलभित्र विवादकाबीच महाधिवेशन तोकिएपछि अहिले नेतृत्व लिन होडबाजी चलेको छ । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन अघि अधिवेशनका नगर्न माग गर्दागर्दै महाधिवेशन तोकिएपछि विद्यार्थी नेताहरु यतिबेला माहोल आफ्नो पक्षमा पार्न क्रियाशील रहेका छन् ।
अखिल अध्यक्ष सुनिता बरालले आफू सांसदको लोगो लगाएर स्ववीयू निर्वाचनमा मत माग्न नजाने बताएपछि अखिलको महाधिवेशन फागुन २ मा तोकिएको हो । महाधिवेशन मितिका विषयमा अखिलभित्र विवाद रहेको छ ।
तर पनि समयमै महाधिवेशन गर्नुपर्ने दायित्व रहेको भन्दै नेताहरु तयारीका लागि जुटिसकेका छन् । अखिलमा केही महिना अघिबाटै अध्यक्षबाट बरालले राजीनामा दिनुपर्ने माग उठेको थियो ।
बराल एमालेको प्रतिनिधि सभा सदस्य हुन् । समानुपातिक सांसद रहेकी उनले संगठनबाट राजीनामा दिएकी छैनिन् । अखिलका एक नेता भन्छन्, ‘हामीले अरू माग राखेका होइनौँ । उहाँ (सुनिता बराल) नै आयोजक कमिटीको अध्यक्ष बन्नुभयो ।’
त्यसैले बरालले आफ्नै निकट व्यक्तिलाई अध्यक्ष बनाउन चाहेको भन्दै विद्यार्थी संगठनभित्र विवाद छ । यतिबेला अनेरास्ववियु अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडाल, उपाध्यक्षहरू मोती विक ‘महेन्द्र’, झपिन्द्र खत्री र लोकेश निरौलाले दाबी गरिरहेका छन् ।
२२ औँ महाधिवेशनमा नवीना लामा निर्वाचित भएयता अखिलमा निर्वाचन भएको छैन । लामा अध्यक्ष बन्दा उपाध्यक्षमा महेश बर्तौला, रश्मी आचार्य, शैलेश लामा, सुनिता बराल र सचिवमा आरसी लामिछाने, समिक बडाल, मकर खडका, अमृत बुढा, सुदेश पराजुली, आरती लामा, ओसिम आलम चुनिएका थिए ।
महासचिवमा ऐन महर निर्वाचित भएका थिए । उनीहरुमध्ये धेरै अहिले अखिलको राजनीतिमा छैनन् र कोही विभाजित पार्टीतर्फ लागेका छन् । लामा अध्यक्ष रहेको बेला एमाले र माओवादीबीच एकता भएको थियो ।
एकता हुँदा अनेरास्ववियुको संयोजकमा महासचिव ऐन महर भएका थिए । लामा एमालेको समानुपातिक सांसद भएसँगै संगठनबाट बिदा लिइन् । लामापछि संयोजक बनेका महरले पनि लामो समय संगठनको नेतृत्व गरेनन् । उनीपछि बराल भइन् ।
लामा अध्यक्ष र महर महासचिव बन्दा उपाध्यक्षमा महेश बर्तौला, रश्मी आचार्य, शैलेश लामा र सुनिता बराल चुनिएका थिए । उनीहरूले नै महरपछि नेतृत्वको आकांक्षा देखाए ।
आकांक्षा देखाउनेमा सचिवका आरसी लामिछाने र समिक बडाल पनि थिए । तर पार्टीले बराललाई अखिलको अध्यक्ष बनायो । एमाले विभाजित हुँदा सुदेश र आरती एकीकृत समाजवादीमा लागे ।
महेश बर्तौला अहिले प्रतिनिधि सभा सदस्य छन् । बराल अध्यक्षमा चुनिँदा पनि लामिछाने र बडालले आकांक्षा देखाएका थिए । लामिछानेलाई वरिष्ठ उपाध्यक्ष र बडाललाई महासचिव बनाएर मिलाइएको थियो ।
अखिलको भावी अध्यक्ष को हो भन्न सक्ने अवस्था नभए पनि लामिछाने आफू ‘वरिष्ठ उपाध्यक्ष’ भएकाले अध्यक्षमा चुनिनुपर्ने भनेर लबिङ गरिरहेका छन् ।
‘अनेरास्ववियु चलायमान संगठन हो । यसको नेतृत्वमा प्रतिस्पर्धा नहुने भन्ने हुँदैन । तर अहिले संगठनले मेरो नेतृत्व खोजेको छ’, लामिछानेले भने, ‘पार्टीले चैतअघि नै अखिलको अधिवेशन गर्न भनेर ताकेता गरेपछि तोकिएकै मितिमा गर्ने पक्षमा छौँ । यसका लागि सबै कमिटीलाई परिचालन गर्न परिपत्र जारी भइसकेको छ । चैतभित्रै अखिलले नयाँ नेतृत्व पाउँछ ।’
यसैगरी बडालले पनि आफ्नो अडान कायम राखेका छन् । पार्टीको प्रतिकूल अवस्थामा पनि आफूले नै नेतृत्व गरेर अघि बढेकाले अब आफैँ अध्यक्ष हुनुपर्ने उनको भनाइ छ । ‘मैले जुनजुन कमिटीमा रहेर काम गरेँ। त्यो पद र कमिटी पहिलो बन्यो,त्रिविमा अखिल खोज्नुपर्ने अवस्थामा थियो, मैले जित्ने अवस्थामा पु-याएँ,’ उनले भने । त्यस्तै झपिन्द्र खत्रीले पनि उपाध्यक्ष भैसकेकाले अन्य साथीहरुको भन्दा आफ्नो दावी बलियो रहेको बताउँदै आएका छन् । ‘सधै अखिलमा मात्रै बसेर हुन्न एउटा समयमा बाहिरिनुपर्छ अहिलेका दावी गरेका साथीहरुले भन्दा संगठन निर्माणमा मेरो भूमिका बढी रहेको छ, साथै अखिलमा संकट पर्दा सत्तिसाल झै उभिएको व्यक्ति हुँ अबको नेतृत्व मैले गर्ने हो’, खत्रीले भने । निरौलाले पनि आफू पनि सक्षम रहेको भन्दै दाबी प्रस्तुत गरेर पूर्व पश्चिम गरिरहेका छन् ।
एमालेले एमालेले २३ मध्ये नौ वटा जनसंगठनको अधिवेशन चैत मसान्तभित्र सक्ने तयारी गरेको छ । एमालेले अनेरास्ववीयूको महाधिवेशन फागुन २ देखि ४ गते, खेलकुद महासंघको फागुन ७ देखि ९ गते, रिटर्नी फेडरेसनको चैत ११ र १२, आदिवासी जनजाति महासंघको फागुन १७ र १८ गते, पिछडा वर्ग महासंघको चैत २२ र २३ गते, अनेमसंघको चैत २५ र २६ गते, राष्ट्रिय युवा संघको चैत २७ देखि २९ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
यसैगरी अखिल नेपाल किसान महासंघको महाधिवेशन चैत २६ देखि २८ गते गर्ने निर्णय भएको छ। राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन पनि यही समयमा पर्ने भएकाले अधिवेशन तोकिएको मितिमा हुन्छ या हुँदैन भन्ने अन्योल छ । भ्रातृ संगठनको महाधिवेशनमा चुनावमार्फत भन्दा पनि सर्वसम्मतिबाट चुन्ने प्रयास भइरहेको छ ।