arrow

राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने माओवादीको निर्णय, रविबारे भएन निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २१ शनिबार
maoist-centre-permanent-committee-2079.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा राष्ट्रपति निर्वाचनबारे चर्चा गर्ने क्रममा राष्ट्रिय सहमतिमा जोड दिने र नभए विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको हो । 

बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने संचारकर्मीसँग बताए । 

उनले माओवादी सबै पार्टीहरूसँग छलफलका लागि खुला रहेको बताए । उनले भने,  ‘राष्ट्रपति निर्वाचनमा सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौं । सबै पक्षसँग हामी खुला छौं, प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेको छ, सबै मिलेर जाऔं भनेर अघि बढ्ने कुरा राम्रो हो ।’

आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको बताइएको छ । जबकि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रीका बारेमा निर्णय गर्न पार्टीले आजसम्मको समय दिएको थियो । 

तर यसअघि नै नागरिकता विवादमा सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रविलाई गृहमन्त्रीको जिम्मेवारी दिन नसकिने बताएका थिए । 

पार्टीले संगठन सुदृढीकरण अभियान चलाउने बताएको छ । पार्टीका केन्द्रीय नेताहरू २ महिना कार्यकर्ता र जनताकहाँ जाने भएका हुन् । 

पार्टीको स्थायी कमिटीको शनिबारको बैठकबाट पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय लिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बताए ।

केन्द्रीय नेताहरू संगठन सुदृढीकरणका लागि जनता र कार्यकर्ताकहाँ गएर आउने अनि केन्द्रीय समितिको बैठकमा त्यसको प्रतिवेदन पेस गर्ने निर्णय गरिएको महराले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ