सच्चा कम्युनिस्टहरू फेरि एकताको प्रक्रियामा आउने : प्रधानमन्त्री दाहाल
रासस,
प्रकाशित २०७९ माघ २२ आइतबार
677
Shares
फाइल तस्बिर
काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा आउने बताएका छन्। आइतबार बेलुका विभिन्न देशका कम्युनिष्ट, वामपन्थी तथा समाजवादी पार्टीका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका छन्।
भेटमा प्रधानमन्त्री दाहालले नेपालको कम्युनिष्ट आन्दोलन उतारचढावका बीच अगाडि बढेको बताउँदै सच्चा कम्युनिष्टहरूको एकताका निम्ति आफूले पहल गरिरहेको बताए। यही फेबु्रअरी १ देखि ५ गतेसम्म विभिन्न देशका कम्युनिष्ट, क्रान्तिकारी, वामपन्थी र समाजवादी पार्टीका प्रतिनिधिहरूको नेपालमा भएको अन्तर्राष्ट्रिय जनसभापछि उनीहरूले प्रधानमन्त्रीसँग भेट गरेका थिए।
सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालको क्रान्ति र शान्ति प्रक्रिया विश्वकै लागि नयाँ र मौलिक भएकामा जोड दिँदै जनताका प्रतिनिधिहरूले निर्माण गरेको नयाँ संविधानले क्रान्तिका महत्वपूर्ण कार्यभारहरू सम्बोधन गरेको बताए। नेपालमा भएको क्रान्ति, शान्ति प्रक्रियाको विश्वव्यापी महत्व रहेकामा जोड दिँदै उहाँले आफ्नो नेतृत्वको सरकार जनताका अपेक्षा सम्बोधन गर्न प्रयत्नशील रहेको जानकारी दिए।
प्रधानमन्त्री दाहालले आफूहरूकै पहलमा नेपालका कम्युनिष्टहरूको एउटै केन्द्र बनेको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न, समाजवादको आधार तयार पार्न र जनअपेक्षा सम्बोधन गर्न निरन्तर प्रयत्न हुने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालको रूपान्तरणकारी आन्दोलनको नेतृत्व गर्ने ऐतिहासिक अवसर पाएको र सो कुरा विश्वभरिकै परिवर्तनका पक्षधर शक्तिहरूका निम्ति प्रेरणा हुनेसमेत उल्लेख गरे।
भेटमा क्युवा, भेनेजुएला, ब्राजिल, चीन, घाना, दक्षिण अफ्रिका, मोरक्को, बङ्गलादेश, इटाली, स्पेनलगायत देशका कम्युनिष्ट एवं वामपन्थी पार्टीका प्रतिनिधिहरू उपस्थित थिए।