- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । माओवादी धारा कम्युनिस्ट नेताहरुबीच बालुवाटारमा भेटघाट भएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेका छन् ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरूले कम्युनिष्टहरुको साझा मोर्चा बनाउने समझदारी गरेको बताइएको छ । माओवादी धाराहरू एक ठाउँमा उभिँदा परिवर्तनका मुद्दा प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सजिलो हुने र अन्य वामपन्थीहरूबीच सहकार्य र एकताको वातावरण तयार हुनेमा उनीहरू एकमत भएका छन् ।
उनीहरूबीच तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको छ ।
नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो राखेका थिए । सो क्रममा प्रधानमन्त्रीले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बन्दीहरू रिहाइका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारी दिएका थिए ।
सो क्रममा माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबीच गहन छलफल भएको छ ।