arrow

बालसुधार गृहमै ग्याङफाइट, नेपालगञ्जबाट काठमाडौं सार्न खोज्दा तोडफोड र आगजनी 

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ माघ २७ शुक्रबार
nepaljung-balsudhar-griha.jpg

नेपालगञ्ज । गएराति बाँकेको डुडवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा तोडफोड र आगजनी भएको छ । घटना आज बिहानसम्म सामान्य भएको बाँके प्रशाासनले जनाएको छ ।

स्थानान्तरण हुने र नहुने भन्ने दुई पक्ष बीचको विवादले उग्ररुप लिँदा घटना भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले बताए । उनले कानूनी विवादको विषयलाई संघसंस्थाको समन्वयमा समाधान गरेर आज बेलुका केहीलाई काठमाडौं स्थानान्तरण गरिने जानकारी दिएका छन् ।

 ‘अहिले कुनै समस्या छैन, सामान्य अवस्था छ’ प्रमुख जिल्ला अधिकारी आर्चायले भने । सुधारगृहमा रहेका केहीलाई काठमाडौं स्थानान्तरण गर्न थालेको भन्दै तोडफोड र आगजनी भएको थियो । 

बाल सुधार गृहमा हतियारसहित प्रवेश गर्न कठिनाई भएकाले अवस्था नियन्त्रणमा ल्याउन प्रहरीलाई हम्मेहम्मे भएको थियो । प्रहरीले नेपालगञ्जबाट दमकल बोलाएर आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा लिए लगत्तै उनीहरुले आफैं सुत्ने सिरक डसनामा आगजनी गरेका थिए । 

तोडफोड भएको ब्लकमा कानूनी विवादमा परेका करिब ७० जना आश्रित छन् । सुधार गृहको ३ वटा भवनमध्ये पुरानो भवनमा आगजनी र तोडफोड भएको हो ।

सुधार गृहमा कुल २ सय २३ जना आश्रित रहेका छन् । उनीहरुबीच पछिल्लो एक महिनामा ४ पटक ग्यांग फाइट भएपछि केहीलाई काठमाडौं स्थानान्तरण गर्ने तयारी गरिएको थियो । 

कानूनी विवादमा परेर सुधार गृहभित्र राखिएकाहरू दुई समूहमा विभाजन भएर भिडन्तमा उत्रँदै आएपछि एक समूहलाई काठमाडौं स्थानान्तरण गर्न थालिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ