arrow

बुटवल नयाँ बसपार्कः ठेक्का बोलपत्र–सम्झौता पत्रको शुल्क बाझियो ! मिलेमतो स्पष्ट

logo
नारायण वली,
प्रकाशित २०७९ फागुन ६ शनिबार
news-buspark-Butwal-sulk-floow-1.jpg

रुपन्देही । बुटवल उप–महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको लुम्विनी बस टर्मिनल (नयाँ बसपार्क) गत असोज तेस्रो साता आर्थिक वर्ष २०७९\०८०–०८०\०८१ का लागि ठेक्का बोलपत्र गर्दाको भ्याट सहितको शुल्क दर अनुसार ठेकेदार पक्षले सवारीहरुबाट रकम उठाउन पाउने नियम स्पष्ट भए पनि तर ठेक्कापछि उपमहानगर र ठेकेदार पक्षबीच गरिएको अर्काे सम्झौतापत्रको शुल्क बाझिन पुगेको छ । 

उपमहानगरले आह्वान गरेको बोलपत्रमा दोस्रो पक्षले गर्न हुने, नहुने र बसपार्कबाट दैनिक बाहिरिने प्रत्येक सवारी र सवारीको प्रकारसमेत उल्लेख गरी शुल्क दर खुलाएर सोही अनुसार ठेकेदार पक्षले उठाउन पाउने खुलाइएको बोलपत्रमा गणेश एण्ड सन्स कन्स्ट्रक्सन (ठेक्का पाएको कम्पनीले) नियम विपरीत रकम असुल्दै आएको हो । गणेश एण्ड सन्स कन्स्ट्रक्सन बुटवल उपमहानगरपालिका वडा नं–१३ मा छ । 

दुई आर्थिक वर्षका लागि २ करोड ९१ लाख, ५४ हजार भ्याटसहित २०७९ असोज ३० गतेदेखि २०८१ असार मसान्तसम्म सञ्चालन गर्न पाउने समयावधि तोकिएको छ । ठेक्का आह्वान गरिएको पत्रमा ठेकेदार पक्षले लुम्बिनी बस टर्मिनल हाताभित्र रहेका सार्वजनिक शौचालय, सपिङ्ग कम्प्लेक्स भवन, टर्मिनल भवन र सो भवनको दक्षिण तर्फको करिब २.५ कठ्ठा खाली जग्गा बाहेकको सञ्चालन\व्यवस्थापन गर्ने सम्बन्धमा देहाय बमोजिमका अन्य बसपार्क बाहिरबाट शुल्क उठाउन नपायने, रात्रिकालीन बसबाट रकम असुल गर्न नपाइने र सामान्यतया टर्मिनलभित्र कुनै पनि खाली सवारी साधन रातभर पार्किङ्ग गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेछ जस्ता शर्त, नियम तथा प्रावधानहरु पालना गर्नुपर्ने स्पष्ट खुलाएको भए पनि तर ठेकेदार पक्षले गैरकानूनी रुपमा ठेक्का आह्वान पत्र विपरीत शुल्क उठाउँदै आएको फेला परेको छ ।

तर अचम्मको कुरा ठेक्का आह्वान बोलपत्र पश्चात्पछि बुटवल उपमहानगरका विभिन्न शाखा प्रमुख कर्मचारीहरु र स्वीकृत बोलपत्रवाला सञ्चालक गणेश एण्ड सन्स कन्स्ट्रक्सन (दोस्रो पक्ष) ठेकेदार प्रतिनिधिबीच गरिएको सम्झौता पत्रमा ३० वटा शर्त नियम तथा प्रावधानहरु उल्लेख गर्दै ठेक्का आह्वान पत्रमा उल्लेख गरिएको भ्याट सहितको शुल्क भन्दाबढी शुल्क राखेर अर्काे सम्झौता पत्र तयार गरी रकम उठाउँदै आएकाले ठेकेदार र उपमहानगरबीच मिलेमतो भएको स्पष्ट देखिन्छ । 

उपमहानगरपालिकाले गत भदौ १४ गते आय ठेक्का सम्बन्धी बोलपत्र आह्वानको पहिलो पटक प्रकाशित गरेको सूचनामा बसपार्कको क्षेत्राधिकार भन्दा बाहिरबाट शुल्क उठाउन नपाउने प्रावधान जनाइए पनि ठेकेदारले अवैध रुपमा शुल्क उठाउने क्रम जारी छ । तर ठेकेदारले बसपार्क अगाडि, राजमार्ग चौराह, चिडियाखोला र नेपालगञ्ज रोड लगायतमा बसेर दैनिक रुपमा शुल्क उठाउँदै आइएको छ । 

हाम्राकुराले पहिलो पटक सो विषयमा माघ २५ गते समाचार ब्रेक गरेपछि उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले यसको प्रक्रियामा नगरप्रहरी तत्कालै खटाएको र २–३ दिनभित्र नतिजा आउने गरी अनुगमन भैरहेको जनाए पनि हालसम्म कुनै प्रभावकारी काम हुन सकेको छैन ।

सम्झौता पत्रमा प्रथम पक्षबाट उपमहानगरका कर्मचारीहरु मित्रमणी खनाल, रामप्रसाद अर्याल, डोलराज पौडेल, लेखनाथ पोखरेल छन् भने दोस्रो पक्षबाट विक्रम श्रीस र देवबहादुर थापा रहेका छन् ।


बुटवल उपमहानगरका नगरप्रमुखः
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले हिजोको बसपार्क र आजको बसपार्क एकपटक हेर्न सुझाउँदै ठेलामय हिजोको बसपार्कलाई आफू आएपछि निरुत्साहित गरेको बताउँदै ठेकेदार पक्षले पैसा उठाएकोबारे उपमहानगरको प्रशासन शाखामा बुझ्न अनुरोध गरे ।

उनले यो कार्यविधि हेर्ने विषय प्रशासनको भएको बताए । उनले आफूकहाँ यो विषयमा गुनासो नआएको बताए । उनले यदि आयो भने हेर्ने प्रतिक्रिया दिए ।

नगरप्रमुख पाण्डेले दाबी गरेझैं बसपार्कमा टंकी, ठेला सञ्चालन नभए पनि बस टर्मिनलभित्र गाडी मर्मत गराउने कार्य हुँदै आएको छ । साथै हातमा लिएर (पटके) व्यापार चकलेट तथा घडीहरु बेच्नेहरुको ब्यापार अझैसम्म कायमै छ । जसबाट ठेकेदारले दैनिकी शुल्क लिएर बेच्न दिने गरेको पाइएको छ । 

यसो भन्छन् उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीः
उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले राजमार्गमा चल्ने दिवा तथा रात्रिकालीन सवारीहरुबाट ठेकेदारले उठाउन पाउने निर्देशन कहाँबाट पायो भन्दै गैरकानूनी रुपमा रकम असुली गर्दै आएको कार्यलाई सम्बन्धित निकायले ध्यान दिन अपील गरे ।

साथै तत्काल बन्द गर्नुपर्ने र कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले आफू पनि एक दिन काठमाडौंबाट बुटवल आउँदा बसबाट ओर्लने क्रममा देखेको बताए । तर उनले त्यतिबेला प्रहरीले रोक्यो होला भनेर त्यति ख्याल नगरेको बताउँछन् । यसरी उठाउनु भनेको अवैध मानिने उनको भनाइ छ । 

सीडीयो कार्यालयः
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सो विषयमा हालसम्म आफ्नो कार्यालयमा गुनासो नआएको बताए । उनले गुनासो आएमा त्यसबारे के रहेछ हेर्ने बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ