arrow

त्रिकोणात्मक क्रिकेटमा नेपालको लगातार तेस्रो जित, नामिबियाविरुद्ध शेख र मल्लको कीर्तिमानी साझेदारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ६ शनिबार
nepal-won-2023-02-18.jpg

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले नामिबियामाथि लगातार दोस्रो जितसमेत निकालेको छ ।

कीर्तिपुरस्थित त्रिविविको मैदानमा भएको खेलमा शनिबार नेपालले नामिबियामाथि ३ विकेटको जित निकालेको हो । श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले तथा । दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । 

नामिबियाले दिएको २७५ रनको विजयी लक्ष्य नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल मल्ल,आसिफ शेख तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । 

आसिफले ९८ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८१ रन बनाए । आसिफको एक दिवसीय अन्तर्राष्ट्रियमा छैटौं अर्धशतक हो । ज्ञानेन्द्रले ७४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए । 

ज्ञानेन्द्रको यो एकदिवसीय अन्तर्राष्ट्रियमा सातौं अर्धशतक हो । मल्ल यस अर्धशतकसँगै नेपालका लागि सर्वाधिक धेरै अर्धशतक बनाउने क्रिकेटर बनेका छन् । 

कुशलले ४१ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६२ रन बनाए । एक दिवसीयमा कुशलको यो तेस्रो अर्धशतक हो । 

नेपालका लागि दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले १३९ रनको साझेदारी गरे । यो नेपालको एक दिवसीय अन्तर्राष्ट्रियमा बनेको सबैभन्दा ठूलो साझेदारी हो। 

यसअघि गत मंगलबार नै नामिबिया विरुद्धको खेलमा कुशल भुर्तेल र रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि १३३ रनको साझेदारी भएको थियो ।

नामिबियाका लागि रुबेन ट्रम्पेलम्यान र बेर्नाड स्कोट्जले समान २–२ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो । जान ग्रिनले ६३ बलमा ७५ रन बनाए । 

नेपालका लागि बलात्कार आरोपमा अदालतमा मुद्दा खेपिरहेका सन्दीप लामिछानेलेसर्वाधिक ३ विकेट लिए । यस सँगै  विश्वकप लिग–२ मा सन्दीपले ५० विकेट पूरा गरेका छन् । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् ।

करण केसीले १ विकेट लिए ।

नेपालले अब अन्तिम खेलमा मंगलबार स्कटल्याण्डसँग खेल्नेछ । सात राष्ट्र सहभागी लिग–२ मा नेपाल २७ खेलमा २४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३३ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

३४ खेलबाट ४८ अंकसहित स्कटल्याण्ड च्याम्पियन बनिसकेको छ । ओमान ३६ खेलबाट ४४ अंकसहित दोस्रो, अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ । पाँचौं स्थानको यूएईको २७ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ