- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले राष्ट्रपतिको उम्मेदवार साझा व्यक्ति हुनुपर्ने बताएका छन् ।
प्रेस सेन्टर नेपाल, कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले पार्टीगतभन्दा पनि साझा व्यक्तिबाट राष्ट्रपति खोज्न आवश्यक भएको बताए ।
“कांग्रेस र एमालेले राष्ट्रपतिको उम्मेदवारी दिने तयारी गरेका छन् तर पार्टीभन्दा बाहिरबाट संविधान र लोकतन्त्रको मर्म बुझेको साझा व्यक्ति राष्ट्रपति हुनुपर्छ भनेर हामीले भनेका छौँ”, गुरुङले भने, “संविधानले पनि साझा र दलगतभन्दा बाहिरको व्यक्ति राष्ट्रपतिको परिकल्पना गरेको छ ।”
राजनीतिक पार्टीका व्यक्ति राष्ट्रपतिमा चुन्दा पटकपटक धोखा खानु परेकाले स्वच्छ छवि भएका लोकतन्त्र र संविधानको रक्षा गर्ने व्यक्ति राष्ट्रपतिका लागि उपयुक्त पात्र हुने भनाइ उनको छ ।
स्वच्छ छवि भएको व्यक्ति राष्ट्रपति चयन गर्न प्रस्तावक जुन दल पनि हुन सक्ने उनले भने । संविधानलाई भताभुङ्ग गरेर आफू निकट पार्टीको पक्षमा निर्णय गर्ने राष्ट्रपति हैन, यस अघि पनि हामीले राष्ट्रपतिबाट धोखा पाइसकेको उनले बताए ।
उनले राष्ट्रपतिको विषयमा मुलुकको हितका विषयमा सोच्नुपर्नेमा जोड दिए । उनले पार्टीगत फाइदाभन्दा पनि समग्र मुलुकको राजनीतिक स्थीरताको लागि सोच्नुपर्नेमा जोड दिए ।
राजनीतिक स्थिरताका लागि संविधानको रक्षा, सुशासन, आर्थिक समृद्धि र स्वाधिनताको रक्षाका राजनीतिक दलहरू पार्टी स्वार्थबाट माथि उठ्नैपर्ने उनको भनाइ थियो ।