arrow

जोड राष्ट्रिय सहमतिमै

स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने माओवादीको निर्णय, जिम्मा प्रचण्डलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
maobadi-kendra-sachibalaya-2079-11-08.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने निर्णय गरेको छ । माओवादीको आज बसेको पदाधिकारी बैठकले पुस १० गते एमालेसँग भएको सत्तासाझेदारीको परिस्थिति बदलिएको भन्दै आफ्ना स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने निष्कर्ष निकालेको हो ।

आज साँझ बसेको बैठकपछि संचारकर्मीलाई जानकारी दिँदै पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले स्वार्थ जोसँग मिल्छ त्यससँग सहकार्य गर्ने निष्कर्ष निस्केको जानकारी दिए ।

उनले पुस १० भन्दा अहिले परिस्थिति फेरिएको भन्दै स्वार्थ रहेका गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय जोसँग मिल्छ त्यसैसँग सहकार्य हुने स्पष्ट पारे । 

उनले भने, ‘हामीले राष्ट्रिय सहमति भनेका छौं । त्यसका लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ ।’

बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्णयबारे अन्तिम निर्णय लिने अधिकार दिँदै बैठक टुंंग्याएको हो ।

बैठकले समग्र परिस्थितिको मूल्याङ्कन गर्दै राष्ट्रपतिमा साझा व्यक्तिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिइएको हो । बैठकमा देव गुरुङ, कृष्णबहादुर महरा, जनार्दन शर्मा लगायतका नेताहरुले साझा व्यक्ति हुनुपर्ने धारणा राखेका थिए । 

त्यस्तै नारायणकाजी श्रेष्ठ र देवेन्द्र पौडेल लगायतका नेताहरुले सकेसम्म  वामपन्थी गठबन्धनलाई कायम राख्ने धारणा राखेका थिए । 

बैठकपछि महराले ‘अहिलेको समग्र परिस्थिति तथा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राखेर राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन प्रयास गर्ने र त्यसका लागि अध्यक्षलाई निर्णयको अधिकार दिइएको छ’, भने । 

बैठकमा अध्यक्ष प्रचण्डले विकसित पछिल्लो घटनाक्रम र भेटवार्ताको जानकारी गराएपछि पदाधिकारीहरुले आ–आफ्ना धारणा राखेका थिए । 

राष्ट्रिय सहमतिकै उम्मेदवार बनाउन पार्टीका तर्फबाट जोड दिनुपर्नेमा नेताहरुले अध्यक्षलाई सुझाव दिएको पनि उनले बताए । 

बैठकअघि पुस १० मा एमालेसँग भएको सहमति तथा त्यसअघि निर्वाचनको बेला भएको गठबन्धनको विषयमा पनि कुराकानी उठेको थियो । 

साथै बैठकमा अहिलेको आर्थिक संकट र वित्तीय परिस्थिति तथा राष्ट्रिय संकटमोचनको बारेमा पनि छलफल भएको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ