arrow

स्कटल्याण्डलाई जित्न नेपाल २१३ रनको चुनौती पछ्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ९ मंगलबार
nepal-scotland-2023-02-21.jpg

काठमाडौं । राजधानीमा जारी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय क्रिकेटको अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग खेलिरहेको छ । कीर्तिपुरस्थित त्रीवीवीको मैदानमा जारी खेल विजयका लागि नेपालले २१३ रनको सामान्य चुनौती पछ्याउँदै छ । 

जारी श्रृंखलामा सबैभन्दा सशक्त बलिङ गरेको नेपालले लिग–२ च्याम्पियन स्कटल्याण्डलाई ४६.१ ओभरमा अलआउट गर्दै २१२ रनमा समेटेको हो । 

स्कटल्याण्डका लागि जर्न मुन्सेले सर्वाधिक ६० रन बनाए । त्यस्तै म्याथ्यु क्रसले ४२ तथा ब्रान्डन म्याकमुलेनले ३१ रन जोडे । 

नेपालका लागि बलात्कारको आरोप खेपिरहेका स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै करण केसीले ३ विकेट लिए । करणले एक दिवसीयमा ५० विकेटको कोसेढुङ्गासमेत पूरा गरेका छन् । 

त्यस्तै कुशल मल्ल र ललित राजवंशीले १–१ विकेट लिए । यसअघि नेपालले लगातार तीन जित हासिल गरेको थियो । नेपालले नामिबियासमेत सम्मिलित श्रृंखलामा नामिबियालाई दुवै खेलमा हरायो भने स्कटल्याण्डलाई पहिलो खेलमा पराजित गरेको थियो । 

विश्वकप लिग–२ मा स्कटल्याण्डले आज ३६ औं तथा अन्तिम खेल खेलिरहेको हो । सात टिम सहभागी लिगमा स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन भएको हो । 

३६ खेल खेलिसकेको ओमान ४४ अंकसहित दोस्रो स्थानमा रहेको छ । दुई खेल खेल्न बाँकी छँदै नामिबियाको ३७ अंक छ । त्यस्तै चौथो स्थानको अमेरिकाले सबै खेल खेलेर ३५ अंक जोडेको छ । 

पाँचौं स्थानको यूएईले २६ खेलबाट २७ अंक जोडिसकेको छ । नेपालले २७ खेलबाट २४ अंक जोडेको छ । स्कटल्याण्डलाई आज हराउँदा २६ अंक हुनेछ । त्यस्तै पुछारको पपुवा न्यूगिनीको २८ खेलमा मात्र ५ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ