arrow

राष्ट्रपतिका लागि नयाँ समीकरण

कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउने आठ दलको सहमति

सत्ता साझेदार एमालेको साथ छाडेर माओवादी कांग्रेसतिर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
congress-flag1.jpg

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा विजयी गराउन संसदमा प्रतिनिधित्व गर्ने आठ दल सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बेलुकी सम्पन्न बैठकले कांग्रेस उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने र विजयी गराउने निर्णय गरेको हो । 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हाम्राकुरासँग कांग्रेस उम्मेदवारलाई राष्ट्रिय सहमतिको उम्मेदवार बनाउने आठ दलले निर्णय गरेको बताए । आज बिहान र साँझ गरी दुई पटक बसेको बैठकले कांग्रेस उम्मेदवारलाई उठाउने निर्णय गरेको हो । यसअघिदेखि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने अडान राख्दै आएका थिए । 

सोही अनुसार उनले नेकपा एमालेसँग पनि छलफल गरिरहेका थिए । तर ओलीले आफ्नो हठ नछाडेपछि प्रचण्डले साँझ पुरानै पाँच दलीय गठबन्धनसहित नयाँ दलहरुलाई समेटेर कांग्रेस उम्मेदवारका नाममा राष्ट्रिय सहमति गरेका हुन् । 

योसँगै प्रचण्डले बैठकपछि सञ्चारकर्मीसँग आफूहरुको नयाँ राजनीतिक यात्रा शुरु भएको बताएका छन् । 

राष्ट्रपतिमा कांग्रेसलाई सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएका छन् भने विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साथ दिएका छन् ।

योसँगै सत्तासाझेदार एमाले छाडेर माओवादी कांग्रेसतिर आइपुगेको छ । 

यता एमालेले भने आफ्नो छुट्टै उम्मेदवार खडा गर्ने बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको नाममा सहमति नजुटे एमालेले छुट्टै उम्मेदवार खडा गर्ने भनी प्रचण्डलाई सुनाएका थिए । 

सत्ताधारी दल राप्रपाले भने कुनै पनि दलको प्रस्तावक वा समर्थक नबस्ने निर्णय गरेको छ । तर सरकारलाई समर्थन दिएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने कुनै निर्णय गरेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ