arrow

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
u-19-asia-cup-2079.jpeg

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई हराएको नेपालले शनिबार भएको दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । 

यूएईस्थित मलिका क्रिकेट मैदानमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०.५ ओभरमा अलआउट हुँदै १०० रन मात्र बनायो । कुवेतका लागि जुधा सालधानाले सर्वाधिक २६ रन बनाए । 

नेपालका लागि आकाश चन्दले ६ तथा हेमन्त धामी र दिपेश कंडेलले समान २–२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर ३४३ रन बनायो । ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले सानदार शतक बनाए । 

खनालले ११७ बलमा ९ चौका र ३ छक्काको सहयोगमा १२५ रन बनाए । कुमालले ११२ बलमा १२ चौकाको सहयोगमा १०८ रन बनाए । कुमाल र खनालबीच तेस्रो विकेटका लागि १७० रनको साझेदारी भएको थियो । 

प्रतियोगितामा आयोजक यूएई र नेपालसहित सिंगापुर, कुबेत,हङकङ र मलेसियाको सहभागिता रहेको छ ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।

नेपालले अब सोमबार तेस्रो खेलमा हङकङविरुद्ध खेल्नेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ