arrow

यू–१९ विश्वकप एसिया छनोटमा नेपालको शानदार प्रदर्शन, लगातार तीन खेलमा विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १५ सोमबार
nepal-hk-cric.jpeg

काठमडौं । आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल लगातार तेस्रो खेलमा विजयी भएको छ । नेपालले आज भएको तेस्रो खेलमा हङकङलाई नौ विकेटले पराजित गरेको हो । 

युनाइटेड अरब इमिरेटस् (यूएई) मा जारी प्रतियोगितामा हङकङले पहिला ब्याटिङ गर्दै ४६ दशमलव तीन ओभरमा सबै खेलाडी गुमाउँदै नेपालसामु जितका लागि एक सय २१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।  

नेपालले विजयी लक्ष्य २२ दशमलव एक ओभरमा एक विकेट गुमाएर पूरा गर्याे । नेपालका लागि आकाश त्रिपाठीले अविजित ६४ रनको योगदान दिए । उनले ७२ बल खेल्दै चार छक्का र पाँच चौका हाने । यस्तै प्रतियोगितामा आजै डेब्यू गरेका उत्तम थापामगरले अविजित ३९ तथा अर्जुन कुमालले १६ रन बनाए । बलिङतर्फ हङकङका ड्यानियल मोर्गन मापले एक विकेट लिए । 

यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने क्रममा हङकङका लागि पर्थ भागवतले ३६ रन बनाए । उनले ९३ बल खेल्ने क्रममा चार चौका प्रहार गरे । मोहम्मद जाहिरले २९ तथा अहान त्रिवेदीले ११ रन बनाए । अन्य ब्याटरको खेल प्रदर्शन उल्लेख्य रहेन । बलिङतर्फ नेपालका लागि हेमन्त धामीले तीन, सुवास भण्डारी र आकाश चन्दले दुई दुई तथा  दीपेश कँडेलले एक विकेट लिए ।

नेपालले यसअघि पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन तथा दोस्रो खेलमा कुवेतलाई दुई सय ४३ रनले पराजित गरेको थियो । नेपालले अब मङ्गलबार मलेसियासित तथा बिहीबार यूएईसँग खेल्नेछ । 

प्रतियोगितामा नेपालसहित, आयोजक यूएई, सिङ्गापुर, कुवेत, हङकङ र मलेसिया सहभागी छन् । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप क्रिकेट खेल्न पाउनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ