arrow

संघीयताको जग तयार : प्रदेश प्रमुख गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १७ बुधबार
Prithiviman gurung.jpg

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकमा सङ्घीयताको जग तयार भएको बताएका छन् । गण्डकी प्रदेशसभा बैठकलाई बुधबार सम्बोधन गर्दै उनले प्रदेश संरचना सुनिने अवस्थाबाट देखिने अवस्थामा आइपुगेको उल्लेख गरे । 

पाँच वर्षअघि शूल्य संरचनाबाट शुरु भएको गण्डकी प्रदेश भौतिक, प्रशासनिक र कानुनी पूर्वाधार खडा गर्न सफल भएको प्रदेश प्रमुख गुरुङले बताए । प्रदेशलाई स्थापित गर्न सरकार र प्रदेशसभाले खेलेको भूमिकाको उनले प्रशंसा गरे ।

“प्रदेशसभाको प्रथम कार्यकालमा सरकार निर्माण गर्न, कानुन निर्माण गर्न, बजेट तथा योजना निर्माण गर्न यहाँहरूले पुर्‍याउनुभएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दछु”, प्रदेश प्रमुख गुरुङले भने ।

प्रदेशको पञ्चवर्षीय योजनाको कार्यान्वयन, प्रदेश लोकसेवा आयोग गठन, गण्डकी प्रदेश प्रशिक्षणको स्थापनाजस्ता कार्यलाई उपलब्धिको रुपमा लिनुपर्ने उनले बताए ।

प्रदेश प्रमुख गुरुङले अहिलेको प्रदेश सरकारले मन्त्रालय सङ्ख्या घटाएर प्रदेशवासीमा सकारात्मक सन्देश दिएको उल्लेख गरे । ऐन, कानुन निर्माणदेखि विकास आयोजनालाई गति दिन प्रदेश सरकारले सक्रियता लिइरहेको उनको भनाइ छ ।

“प्रदेशलाई बलियो बनाई प्रदेश सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्रीबाट पटकपटक प्रधानमन्त्रीलाई भेट गरी प्रदेशका समस्या र समाधानका उपायका सम्बन्धमा जानकारी गराउने काम भएको छ”, प्रदेश प्रमुख गुरुङले भने ।

जनअपेक्षाअनुरुप विकास, सुशासन र सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारले थप प्रयत्न गर्नुपर्ने उनले बताए । “संविधानमा व्यवस्था गरिएको सबै मौलिक हकअधिकारको व्यवहारमा अवलम्बन गर्न/गराउन बाँकी नै छ, सेवा प्रवाहलाई सहज र सरल बनाउनु जरुरी छ”, प्रदेश प्रमुख गुरुङले भने ।

उनले ‘समृद्ध प्रदेश, सुखी नागरिक’को लक्ष्य प्राप्तिका लागि वर्तमान गण्डकी सरकार प्रतिबद्ध रहेको बताए । विकास र समृद्धि कुनै राजनीतिक दल वा समूह विशेषको निजी विषय नभई नागरिकको साझा विषय भएको प्रदेश प्रमुख गुरुङले उल्लेख गरे ।

गण्डकी प्रदेशको समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासनलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनले बताए । प्रदेश प्रमुख गुरुङले सबैको संयुक्त प्रयासबाट गण्डकीले समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ