- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । यूएईमा सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट श्रृंखलाको अन्तिम खेलमा आयोजक यूएईमाथि सनसनीपूर्ण शानदार जित हासिल गर्दैै नेपालले विश्वकप छनोटमा सिधै छानिने सम्भावना कायमै राखेको छ ।
यूएईमा भएका चारमध्ये तीन खेलमा जित हासिल गर्दै नेपालले विश्वकप छनोटको सम्भावना कायमै राखेको हो । अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हरायो । नेपालले यसअघि पपुवा न्यूगिनीमाथि दुवै खेलमा जित हासिल गरेको थियो भने यूएईसँग एक खेल हारेको थियो ।
जितका २३० रनको चुनौती पछ्याउने क्रममा यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रनमात्र बनाउन सक्यो । यूएईका लागि आशिफ खानले ८२ तथा आर्यन लाक्राले ५० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले कमालको बलिङ गरे । दुवैले ३–३ विकोट लिए ।
त्यस्तै करण केसी, आशिफ शेख र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २२९ रन बनायो । ६८ रन जोड्दा ५ विकेट गुमाइसकेको नेपालका लागि २१ वर्षे भीम सार्कीले शानदार अर्धशतक बनाएसँगै सम्मानजनक योगफल तयार गरेको हो ।
कस्तो रह्यो नेपालको ब्याटिङ ?
१४ रन जोड्दा नेपालले पहिलो विकेट गुमायो ४.२ ओभर खेल्दा नेपालले आशिफ शेखलाई व्यक्तिगत ६ रनमा गुमायो ।
३४ रन जोड्दा नेपालले दोस्रो विकेट गुमायो । ज्ञानेन्द्र मल्ल व्यक्तिगत ११ रन बनाउँदा एलबीडब्लु आउट भए ।
त्यस्तै टिमले ११.२ ओभरमा ४९ रन जोड्दा नेपालले ३ विकेट गुमायो । कप्तान रोहित पौडेल पनि आउट भए । उनी व्यक्तिगत १ रनमा आउट भएका हुन् ।
त्यस्तै पिचमा सेट भएका कुशल मल्ल पनि आउट भए । १४.१ ओभरमा ५९ रन जोड्दा नेपालले चौथो विकेट गुमायो । कुशल ३२ बलमा ३२ रन बनाएर आउट भए । उनले २ छक्का हानेका थिए ।
नेपालले ६८ रन बनाउँदा महत्वपूर्ण ५ विकेट गुमायो । १७.१ ओभरमै नेपालले ५ विकेट गुमाएको हो । दिपेन्द्र सिंह ऐरी व्यक्तिगत ४ रन जोडेर आउट भए ।
त्यस्तै १२४ रन बनाउँदा नेपालले ६ विकेट गुमायो । सन्दीप लामिछाने २७ रन बनाएर आउट भए । भीम सार्की र सन्दीपबीच ५६ रनको साझेदारी भयो ।
त्यसपछि भीम सार्कीले भने नेपालको आशा जगाउन सफल भए । अनुभवी ब्याट्सम्यानहरु फ्लप भएको यो इनिङ्समा २१ वर्षे भीमले नेपालको आशा जगाएका हुन् । उनले अर्धशतक प्रहार गरेका छन् ।
भीमले ७० रन बनाएका छन् । उनले ७ चौका प्रहार गरेका थिए । भीम र आरिफ शेखले ५६ रनको साझेदारी गरे ।
करण केसीले ११ बलमा १७ रन बनाए । आरिफ शेखले अविजित रहँदै ५६ बलमा ४३ रन जोडे । दोस्रो एक दिवसीय खेलिरहेका प्रतिश घर्ती क्षेत्रीले ६ बलमा अविजित रहँदै ११ रन बनाए ।
जुनैद सिद्धिकीले सर्वाधिक ३ विकेट लिए ।
सन् २०१९ देखि जारी रहेको विश्वकप लिग–२ को श्रृंखलामा नेपालको यो विदेशमा भएको अन्तिम खेल हो ।
अबको लिग–२
यो खेल सकिएपछि यसै सातादेखि नेपालले पपुवा न्यूगिनी र यूएईसँग घरेलु मैदानमा २–२ खेल खेल्नेछ । नेपाली भूमिमा हुने यो श्रृंखलासँगै विश्वकप लिग–२ पनि सकिने छ ।
यही श्रृंखलाबाटै विश्वकप छनोटमा पुग्ने शीर्ष तीन टिम र एक दिवसीयमा रहिरहने शीर्ष पाँच टिमको टुङ्गो लाग्नेछ ।
हरेक टिमले ३६ खेल खेलेपछि सात टोली सहभागी लिग–२ बाट यसको छिनोफानो हुन लागेको हो ।
विश्वकप लिग–२ मा सबै खेल खेलेर स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन बनिसकेको छ । दोस्रो स्थानको ओमानको ४४ अंक छ । तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । सबै खेल खेलेको चौथो स्थानको अमेरिकाको ३५ अंक छ ।
३२ खेलबाट ३२ अंक बटुलेको नेपाल पाँचौं स्थानमा पुग्न सफल भएको छ । छैटौं स्थानमा झरेको यूएईको ३२ खेलबाट ३१ अंक छ । सातौं स्थानको पीएनजीको ९ अंक छ ।
अब पुछारका तीन टिमको बाँकी रहेको खेलबाटै विश्वकप छनोट र एक दिवसीय वरीयता कायमको टुंगो लाग्नेछ । अर्थात् अहिलेसम्म तीन टिमले सिधै विश्वकप छनोट खेल्न पाउनेमा स्कटल्याण्ड र ओमानमात्र सुरक्षित छन् ।
नामिबिया पनि अझै ढुक्क हुन सकेको छैन । त्यस्तै शीर्ष पाँचमा रहेर एक दिवसीय वरीयता बचाउने अमेरिकाको सम्भावना पनि कमजोर देखिएको छ । अर्कातर्फ पुछारको पीएनजीले भने एक दिवसीय वरीयता बचाउन सकेन ।
नेपालले अब बाँकी सबै खेल जित्दामात्र विश्वकपमा सिधै छनोट हुने अवसर पाउने छ ।
यसै सातादेखि अर्थात आगामी बिहीबारदेखि कीर्तिपुर मैदानमा नेपाल, पीएनजी र यूएई खेल्नेछन् । बिहीबारकै खेलमा नेपालले पीएनजीसँग खेल्नेछ ।
एक दिवसीय बचाइराख्न नेपालले अबका दुई खेल जिते पुग्नेछ ।