arrow

रक्त क्यान्सरसँग लडिरहेकी प्रनिषाको खर्च जुटाउन अमेरिकामा कन्सर्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
axe-band-usa-dallas-nepali-concert.jpg

काठमाडौं। रक्त क्यान्सरसँग लडिरहेकी ४ वर्षीया बालिका प्रनिषा सिजापतिको उपचारका लागि रकम संकलन गर्न अमर क्षेत्री फाउण्डेसनको पहलमा अमेरिकामा 'महाकाल' कन्सर्ट आयोजना गरिएको छ।

बाल्य अवस्थामै रक्त क्यान्सरसँग लडिरहेकी बालिका प्रनिषाको बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने आवश्यकता थियो। उनको उपचारका लागि आथिर्क सहयोग जुटाउन अमेरिकाको डलासमा अमर क्षेत्री फाउण्डेसनको पहलमा नेपाली कन्सर्टको आयोजना गरिएको हो।

फाउण्डेसनका अमर क्षेत्री, द एक्स ब्यान्ड, गायक निमा रुम्बा र दि भ्वाइस अमेरिकाको टप आठसम्म पुगेकी गायिका पारिजिता बाँस्तोला समेतको प्रयासले कन्सर्ट सफल भएको उनीहरुले बताएका छन्। उक्त कन्सर्टको सबै टिकटहरु बिक्री भएका थिए।

कन्सर्टलाई सफल बनाउन डलास आधारित नेपाली समुदायले पनि महत्वपूर्ण भूमिका खेलेका थिए। यो कन्सर्टबाट काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रनिषाको उपचारका लागि ३ लाख ५० हजार रुपैयाँ जुटेको छ।

एक्स ब्यान्डका सदस्यहरुको उपस्थितिमा उपासना मेडिकल एडमा नेपालस्थित प्रनिषाका बुवा हरि सिजापतीलाई उक्त रकम हस्तान्तरण गरिएको छ।

नेपालमा उपचार सफल नहुने देखिएसँगै थप उपचारका लागि उनलाई भारतको नयाँ दिल्ली लैजानु पर्ने भएकाे छ। प्रनिषाको उपचारका लागि सहयोग गर्न चाहेमा उपासना मेडिकल एडलाई ९८५१०९९०९१ मा सम्पर्क गर्न सकिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ