arrow

बिजुली नै विकास मार्ग

ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रसँग मिलेर काम गर्ने प्रचण्डको प्रतिबद्धता 

हाइड्रोजनबाट चल्ने सवारी चढ्ने वचन, देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २३ मंगलबार
prachanda-urja.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गरेका छन् । सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको मंगलबार यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको सन्दर्भ जोड्दै मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने बताए । 

उनले आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

साहस ऊर्जासँग जोडिएका सबै सङ्घ संस्थालाई सरकारको तर्फबाट बधाई एवं धन्यवाद दिँदै प्रधानमन्त्रीले ऐतिहासिक रेकर्ड बनाएकामा साहस ऊर्जालाई थप आयोजना निर्माणका लागि आग्रह गरे । उनले साहस ऊर्जाको प्रयासले आगामी दिनमा निजी क्षेत्रलाई थप आयोजना निर्माणका लागि उच्च मनोबल प्रदान गरेको तथा नयाँ आयाम खडा गरेकामा प्रसन्नता व्यक्त गरे । 

प्रकृतिले दिएको अपार जलस्रोतको उपयोग गरेर मात्रै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि लैजान सकिने प्रधानमन्त्रीको भनाइ छ । आफू पहिलो पटक प्रधानमन्त्री बन्दा ठूला र रणनीतिक महत्त्वका परियोजना शुरु गर्नुपर्छ भन्ने घोषणा गरेको स्मरण गर्दै उनले क्रमशः ती आयोजना अगाडि बढेको र त्यसले मुलुकको आकांक्षालाई पूरा गर्ने बताए । 

दोस्रो पटक प्रधानमन्त्री बन्दा आफूले व्यावहारिक तथा प्राविधिकरूपमा लोडसेडिङको अन्त्य गरेको प्रधानमन्त्रीले पुनः स्मरण गरे । सबै तह र तप्काबाट दृढ इच्छाशक्तिका साथ देश बनाउने प्रतिबद्धता व्यक्त गरियो भने त्यसबाट सकारात्मक प्रभाव पर्ने, व्यापार घाटा घटाउनका लागि पनि बिजुली बिक्री नै उपयुक्त माध्यम बन्ने उनको भनाइ छ ।  

भारतीय बजारमा मात्रै नभइ बङ्गलादेशमा समेत बिजुली बिक्री गर्न सक्ने वातावरण क्रमशः बनेको प्रधानमन्त्रीले दाहोर्याए । 

अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छु

प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रमा भएको विकासले ग्रीन हाइड्रोजनमा फड्को मार्ने उपयुक्त अवसर आएको बताए । विकसित देशमा हाइड्रोजनको प्रयोगको मात्रामा गुणात्मक वृद्धि हुँदै गरेको तथ्य पेश गर्दै प्रधानमन्त्रीले नेपाल पनि क्रमशः त्यसतर्फ अग्रसर हुने उल्लेख गरे । 

प्रधानमन्त्रीले डिजेल र पेट्रोलको सवारी साधन छाडेर आफूलाई हाइड्रोजन सवारी साधन चढ्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुझाव दिएको र त्यसको तयारीमा रहेको जानकारी दिए । उनले ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतर्फ जाने सोचका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत छलफल भएको बताए । 

निजी तथा सार्वजनिक क्षेत्रको सहकार्य बिना आर्थिक विकासको प्रक्रिया अगाडि बढ्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रले अगाडि बढाएका सबै आयोजनाको सहजीकरण गर्ने र समस्या समाधान गर्ने विश्वास दिलाए । 

मुस्ताङमा कलेज खोल्न स्वीकृति दिएको छैन

पछिल्ला दिनमा मुस्ताङमा विश्वविद्यालय खोल्न सरकारले अनुमति दिएको भनेर गरिएको प्रचारमा सत्यता नभएको प्रधानमन्त्री दाहालको भनाइ थियो । प्रधानमन्त्रीले मुस्ताङको एक स्थानीय तहले विश्वविद्यालय नभई कलेज खोल्नका लागि आग्रह गरेको भन्ने आफूले थाहा पाएको भए पनि नेपाल सरकारको तर्फबाट कहीँकतै स्वीकृति नदिएको बताए ।

मुस्ताङको चर्चा आउने बित्तिकै हामी सबै नेपाली संवेदनशील हुने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यहाँ रहेको खनिजको उपयुक्त प्रयोग गरिए देशमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिने बताए । केही दिन पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न अनुमति दिएको आरोप लगाएका थिए । 

सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विश्वविद्यालय खोल्न कुनै निर्णय नभएको र त्यसको छानबिन गरिने बताएकी थिइ् । प्रधानमन्त्रीले  मुस्ताङमा मात्रै नभई देशका अन्य स्थानमासमेत महत्त्वपूर्ण खनिज पदार्थ रहेकाले त्यसलाई उपयुक्त रूपमा उपयोग गरिने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीका रूपमा असफल हुने छुट आफूहरूलाई नभएको भन्दै उनले देश विकास र अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रको तागत लगाइने बताए । आफूले अर्थतन्त्रको क्षेत्रमा देखा परेको समस्या समाधानका लागि पहलकदमी लिएको र केही दिनभित्रै नयाँ विश्वासका साथ देश सकारात्मक दिशामा अगाडि बढ्ने उल्लेख गरे । 

निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घ संस्था, बैंक, वित्तीय संस्थाका प्रतिनिधि सबैलाई बोलाएर अर्थतन्त्रमा देखा परेको समस्या समाधानका लागि छलफल गरेको प्रधानमन्त्रीको भनाइ छ । उनले सबै तह तप्का र क्षेत्रको साझा प्रयासबाट मात्रै मुलुकका सामु देखा परेको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निजी क्षेत्रले निर्माण गरेको हालसम्मकै सबैभन्दा ठूला आयोजना हो । सो आयोजनाको क्षमता ८६ मेगावाट छ । साहस ऊर्जाका अध्यक्ष हिम पाठकले पाँच सय मेगावाटसम्मका जलाशययुक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सक्छौँ भन्ने अनुभव आफूहरूले प्राप्त गरेको बताए । 

विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायतका कारणले अपेक्षित समयमा पूरा हुन नसकेको भए पनि ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने प्रमाणित भएको उनले जानकारी दिए । जलविद्युत् क्षेत्रको विकासको माध्यमबाट मात्रै समृद्धि प्राप्त हुने हुँदा विद्युत् खरिद बिक्रीको इजाजतपत्र प्रदान गरिदिन उनले प्रधानमन्त्रीसमक्ष आग्रह गरे । 

आयोजनाको परीक्षण उत्पादन सम्पन्न भई हाल व्यावसायिक उत्पादन शुरु भएको छ । आयोजनाबाट उत्पादित बिजुली एक सय ३२ केभी क्षमताको सोलु करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजना आफैँले १२ किलोमिटर लामो एक सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरेको छ ।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले प्रकृतिले दिएको अथाह जलशक्तिको उपयोग गरेर आर्थिक समृद्धिको मार्ग प्रशस्त हुने बताए । 

ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको प्रवेशपछि नै मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको भए पनि आयोजना निर्माणपूर्व सात मन्त्रालय र २१ विभाग पुग्नुपर्ने जस्ता समस्या रहेकाले त्यसको उचित सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । 

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी अभिवृद्धि भइरहेको जानकारी दिँदै उनले विद्युत् प्रवर्द्धकले स्थानीयस्तरमा भोग्नुपरेको समस्या समाधान गर्न अनुरोध गरे  । अध्यक्ष आचार्यले बिजुलीको आन्तरिक खपत बढाउन तथा बाह्य मुलुकमा बिक्रीका लागि अनुमति दिन आग्रह गरे । 

कार्यक्रममा पूर्वसचिव रामेश्वर खनाल र अर्थशास्त्री डा डिल्लीराज खनाललगायतलाई प्रधानमन्त्री दाहालले सम्मान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ