arrow

यसकारण भोलि हुने राष्ट्रपतिको निर्वाचनमा खुलेनन् पाँच दल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
president-election-nepal1.jpg

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश संसदमा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि राजनीतिक दलले कसलाई मत दिने भन्ने बारेमा अझै खुलेका छैनन् ।

भोलि बिहीबार हुने राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदमा रहेका तीन वटा दल र प्रदेश संसदमा रहेका २ दल गरी पाँच राजनीतिक दलले राष्ट्रपति निर्वाचनमा अझै मत दिने भन्नेबारे नखुलेका हुन् । 

यसरी खुल्न नसकेका संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा(, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदूर किसान पार्टी (नेमकिपा) रहेका छन् भने प्रदेश संसदमा प्रतिनिधित्व गर्ने हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टी रहेका छन् ।

राष्ट्रपति निर्वाचनको बारेमा निर्णय गर्नका लागि राप्रपाले ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने रास्वपाले भोलि बिहान संघीय संसदीय दलको बैठक बोलाएको छ । दुवै पक्षले सो बैठकबाट खुल्ने बारेमा निर्णय लिने तयारी गरेका छन् ।

राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ नौ दलीय गठबन्धनवाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल उम्मेदवार छन् भने प्रतिपक्ष दल नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई उठाएको छ । 

आचारसंहिताले खुल्न नपाइने–

राष्ट्रपति निर्वाचनका लागि गत फागुन १७ गतेवाट नै निर्वाचन आचारसंहिता लागू भएकाले कुनै उम्मेदवारको पक्षमा खुल्न भने पाइने छैन ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता लागू भइसकेकाले राजनीतिक दलले पक्षधरता देखाउन नपाउने बताए । ‘गत फागुन १७ गतेबाट नै राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको अवस्था छ । आचारसंहिता लागू भइसकेकाले अब कुनै पनि राजनीतिक दलले राष्ट्रपतिको उम्मेदवारको पक्षधरता देखाएर निर्णय लिन पाउँदैनन्,’ उनले भने, ‘अब कुन उम्मेदवारको पक्षमा खुल्ने कुरा प्रचार हुन्छ । आचारसंहिता लागू भएकाले प्रचार गर्न पाउँदैनन्, यसमा रोक लागिसकेको अवस्था छ ।’ 

उनका अनुसार अब पक्षधरता देखाए वा खुलेमा निर्वाचन आयोगले राजनीतिक दललाई प्रस्टीकरण सोधेर कारबाही गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ