arrow

चौधरी फाउण्डेसनको सहयोगमा सुस्तामा सुविधा सम्पन्न बर्थिङ सेन्टर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २४ बुधबार
sarika-chaudhary-chaudhary-foundation.jpg

नवलपरासी । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवास्थित स्वास्थ्य केन्द्रमा सुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ । 

बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पकलीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सुस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा फाउण्डेसनकी सचिव सारिका चौधरी र गाउँपालिकाका तर्फबाट पालिका अध्यक्ष टेकनारायण उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

बर्थिङ सेन्टर सञ्चालनमा आएपछि जिल्लाको ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूले सहज रुपमा गुणस्तरीय सेवा पाउने सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले विश्वास व्यक्त गरे । 
 
फाउण्डेसनले नवलपरासीमा लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने चौधरी फाउण्डेसनकी सचिव चौधरीले बताइन् । 

‘बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएपछि यहाँका महिला र बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने हाम्रो विश्वास छ’, उनले भनिन् । 

सुस्ता गाउँपालिका अन्तर्गत वडा न. ५ मा रहेको  स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सेवा सञ्चालनमा आउने भएको हो  । प्रदेश सभा सदस्य देवकरणप्रसाद कलवार सन्तुले सुस्ता गाउँपालिकाको सबैभन्दा विकट क्षेत्र मानिने पकलीहवा क्षेत्रका महिलाहरुको अब स्वास्थ्य सेवामा सहज पहुँच हुने विश्वास व्यक्त गरे । 

नवलपरासी १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद विनोद चौधरीको सक्रियतामा बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएको हो । 

उनले निर्वाचनमा प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । 
सम्झौताअनुसार फाउण्डेसनले स्वास्थ्य केन्द्रका लागि एक जना एमबीबीएस चिकित्सक, एक जना अनमीको खर्च र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने भएको हो । 

सम्झौताअनुसार गाउँपालिकाले प्रत्येक वडामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्नेछ । 

सम्झौता कार्यान्वयनमा आएको मितिदेखि चौधरी फाउण्डेसन र सुस्ता गाउँपालिका दुवैले बर्थिङ सेन्टरको स्तरोन्नति र सुदृढिकरणका लागि संयुक्त रुपमा काम गर्नेछन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ