arrow

मत परिणामको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाइँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
ramchandra-deuba-prachanda-madhav.jpg

काठमाडौं ।  निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज बुझाउँदैछ । राष्ट्रपति निर्वाचनबाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेल निर्वाचत भएको भोलिपल्ट आज आयोगले मतपरिणाम सहितको प्रतिवेदन बुझाउन लागेको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ बमोजिम आयोगले निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार भएको मतदानमा पूर्वसभामुख रामचन्द्र पौडेल निर्वाचित भएका हुन् । आफ्ना प्रत्यासी पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

निर्वाचन समितिका अनुसार पौडेलले सङ्घतर्फ दुई सय १४ र प्रदेशतर्फ तीन सय ५२ मत प्राप्त गरेका थिए । उनले कूल ३३ हजार आठ सय दुई मतभार प्राप्त गरे । यसैगरी उनका प्रत्यासी नेम्वाङले सङ्घतर्फ ९८ र प्रदेशतर्फ एक सय ६२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । नेम्वाङले कुल १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए । 

मतदानका लागि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको थियो । पूर्वसभामुख पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार थिए भने अर्का पूर्वसभामुख नेम्वाङलाई एमालेको साथ थियो ।  
  
संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । 

नेपालमा विसं २०६२–६३ को आन्दोलनको उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ