arrow

पीएनजीसँग हारेसँगै यूएई अप्ठेरोमा, नेपाललाई मौका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २६ शुक्रबार
uae-png-2023-03-10a.jpeg

काठमाडौं । आईसीसी विश्वकप लिग २ को अन्तिम त्रिकोणात्मक क्रिकेट श्रृंखला अन्तर्गतको पहिलो खेलमा पराजित भएसँगै युनाइटेड अरब इमिरेट्स यूएईको सिधै विश्वकप छनोट खेल्ने सपना तुहिएको छ । 

शुक्रबार पपुवा न्युगिनी (पीएनजी) सँग पराजित भएसँगै यूएईको विश्वकप छनोट सिधै खेल्ने सपना तुहिएको हो । अब विश्वकप छनोटका लागि यूएईले प्लेअफ खेल्नु पर्नेछ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा पीएनजी ५६ रनले विजयी भयो ।  पीएनजीले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको यूएईले ४२ ओभर २ बलमा मात्र १ सय ९० रनमा अलआउट भयो।

यूएईका लागि आर्यान लाक्राले ५१ रन बनाए । पीएनजीका लागि राइली हेकुरेले ३ तथा असद भाला र कबुवा मोरियाले समान २–२ विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४६ रन बनायो । सेसे बाउले ८१, हिरिले ७७ रन बनाए । किप्लिन डोरिगाले ५५ रन बनाए । यूएईका लागि आयान खानले ३ जुनेद सिद्धिकी र जाहोर खानले समान २–२ विकेट लिए । 

अबको समीकरण 
यही प्रतियोगितापछि नै विश्वकप छनोटमा पुग्ने तीन टोली, एक दिवसीयमा कायम रहने पाँच टोली र एक दिवसीयबाट बाहिरिने दुई टोलीको टुंगो लाग्नेछ । 

नेपाललाई विश्वकप छनोट खेल्ने सबैभन्दा ठूलो अवसर छ । घरेलु मैदान र घरेलु दर्शकको साथले गर्दा बलियो देखिएको नेपालले सबै चार खेल जित्ने हो भने विश्वकप छनोट खेल्नेछ । 

१२ औं खेलाडीका रुपमा दर्शकलाई लिने गरिन्छ । र एसोसिएट राष्ट्रमा सबैभन्दा बढी दर्शक भएको देश नेपाल नै हो । नेपाललाई यो भन्दा बढी अवसर कुनै पनि हुनै सक्दैन । 

यूएईलाई भने निकै नै कठिनाइ भएको छ । यूएई पीएनजीसँग पराजित भएसँगै विश्वकप छनोट सिधै खेल्ने अवसर त गुमाएको छ नै अब कम्तीमा दुई खेल नजित्ने हो भने एक दिवसीय मान्यता पनि गुमाउने खतरा छ । त्यो पनि फराकिलो अन्तरले जित्नुपर्नेछ ।

यूएई पीएनजीसँग पराजित भएसँगै उसको मनोबल खस्किँदा त्यसको फाइदा नेपाललाई हुनेछ । नेपालले अब खेल्न बाँकी सबै खेल जित्ना साथ सिधै विश्वकप छनोट खेल्न पाउने छ । 

अंक तालिका
सात राष्ट्रमध्ये पुछारका तीन टिम बाहेक सबैले आफ्नो सबै खेल खेलेका छन् । शीर्ष स्थानको स्कटल्याण्ड ३६ खेलबाट ५० अंकसहित च्याम्पियन बनिसकेको छ । ४४ अंकबाट दोस्रो स्थानको ओमान पनि विश्वकप छनोटमा सुरक्षित भैसकेको छ । 

तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । चौथो स्थानको अमेरिकाको ३५ अंक छ । 

पाँचौं स्थानको नेपालको ३३ खेलबाट ३४ अंक छ । यूएईको ३३ खेलबाट ३१ अंक छ भने पीएनजीको ३४ खेलबाट ११ अंक छ । 

नेपालले अबका बाँकी तनि खेल जित्दा ४० अंक हुनेछ र तेस्रो स्थानमा रहेर जिम्बावेमा हुने छनोट खेल्नेछ । यदि मौसमका कारण कुनै एक खेलमा बराबरी गरी अंक बाँडेर बाँकी सबै खेल जित्यो भने रन रेटमा नामिबिया भन्दा माथि हुनुपर्नेछ । अन्यथा कुनै एक खेल हार्नासाथ विश्वकप छनोटमा सिधै खेल्ने अवसरबाट बाहिरिने छ । 

त्यस्तै यूएईले पनि अबका बाँकी खेल जितेमात्रै एक दिवसीय मान्यता जोगाउने छ । यूएई सिधै विश्वकप छनोट खेल्न भने नपाउने भएको छ । 

शीर्ष पाँचमा रहने टिममात्र एक दिवसीयमा रहन पाउने भएकाले यूएई निकै दबाबमा छ । पुछारका दुई टिम बाहिरिने छन् । यसका लागि भने अब नेपालले एक खेल जितेमात्र पनि पुग्नेछ । 

पीएनजी एक दिवसीयबाट बाहिरिएको छ भने अब अमेरिका, यूएई र नेपालमध्ये एक टिम बाहिरिने छ । 

विश्वकप लिग २ का बाँकी खेलहरु
फागुन २८ गते आइतबार नेपाल र यूएई, कीर्तिपुर मैदान । 
फागुन २९ गते सोमबार नेपाल र पीएनजी, कीर्तिपुर मैदान । 
चैत १ गते बुधबार पीएनजी र यूएई, कीर्तिपुर मैदान । 
चैत २ गते बिहीबार नेपाल र यूएई, कीर्तिपुर मैदान 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ