arrow

विश्वकप लिग २

यूएईविरुद्ध नेपाल ब्याटिङमा, आज जिते एक दिवसीय मान्यता कायम 

करण र ज्ञानेन्द्र बाहिरिए, ललितनारायण राजवंशी र अलराउण्डर गुलशन झा टिममा समावेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २८ आइतबार
nepal-uae-2023-03-12.jpeg

काठमाडौं । विश्वकप लिग २ क्रिकेटको अन्तिम श्रृंखला काठमाडौंमा जारी रहेको छ । श्रृंखला अन्तर्गत आजको खेलमा नेपाल र युनाइटेड अरब इमिरेट्स यूएई भिडिरहेका छन् । 

त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले एक दिवसीय मान्यतालाई कायम राख्न आजको खेल जिते पुग्नेछ । यो खेल हारे यूएईको एक दिवसीय मान्यता सन्कटोन्मुख हुनेछ । 

आजको खेलमा करण केसी र ज्ञानेन्द्र मल्ल टिमबाट बाहिरिँदा स्पिनर ललितनारायण राजवंशी र अलराउण्डर गुलशन झा टिममा समावेश भएका छन् ।

नेपालले यूएईलाई पछिल्लो भिडन्तमा ४२ रनले हराएको थियो । तर त्यसअघिको खेलमा ६८ रनले पराजित भएको थियो । त्यसअघिका दुई खेल भने नेपालले नै जितेको थियो । 

नेपाल खेल्न बाँकी तीन वटै खेल जितेर सिधै विश्वकप छनोट खेल्न चाहन्छ भने यूएई विश्वकपमा सिधै छनोटको सम्भावनाबाट बाहिरिइसकेको छ । 

यसअघिको खेलमा नेपालले त्रिकोणात्मक श्रृंखलाको अर्को राष्ट्र पपुवा न्युगिनी पीएनजीलाई हराएको थियो भने यूएई पीएनजीसँग पराजित भएको थियो । 

यसबाट पनि नेपालको मनोबल उच्च छ भने यूएई निकै दबाबमा छ । अर्कातर्फ घरेलु मैदानमा खेलिरहेको नेपाललाई १२ औं खेलाडी मानिने दर्शकको समर्थन छ भने यूएई यो मामलामा कमजोर छ । 

नेपाल निरन्तर सफलतालाई अझ अगाडि बढाउने क्रममा आजको खेल जित्नैपर्ने दबाबमासमेत छ । 

अंक तालिका
सात टोली सहभागी विश्वकप लिग २ मा जारी श्रृंखलाका खेल बाहेक सबैले खेलिसकेका छन् । एक टिमले ३६ खेल खेल्नुपर्नेमा सबै अगाडिका चार टिमले पूरा खेल खेलिसकेका छन् । पछाडिका तीन टिमको भिडन्त जारी छ । 

स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन भइसकेको छ । ओमान ४४ अंकबाट दोस्रो स्थानमा छ । तेस्रो स्थानको नामिबियाको ३९ अंक छ । चौथो स्थानको अमेरिकाको ३५ अंक छ । 

३३ खेलबाट ३४ अंकको नेपाल पाँचौं स्थानमा छ । ३३ खेलबाट ३१ अंकको यूएई छैटौं स्थानमा छ । ३४ खेलबाट ११ अंकको पीएनजी पुछारमा छ । 

नेपाल बाँकी तीन खेल जितेमा ४० अंकसहित तेस्रो स्थानमा पुग्नेछ । यूएईले बाँकी खेल जिते पनि चौथो स्थानमै रहने छ । 

सातमध्ये शीर्ष तीनमा रहने टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन् । शीर्ष पाँच टिमको एक दिवसीय वरियता कायम रहने छ । पुछारका दुई टिमले एक दिवसीय मान्यता गुमाउने छन् । 

अहिलेसम्म पीएनजीले एक दिवसीय मान्यता गुमाएको छ भने नेपाल र यूएईमध्ये एक टिमले उक्त मान्यता गुमाउने छन् । 

आजको खेलमा नेपाल विजयी हुनासाथ यूएईले एक दिवसीय मान्यता गुमाउने लगभग निश्चित हुनेछ । 
यूएईले यो खेल जिते पनि त्यसपछिका दुवै खेल जित्नुपर्ने हुन्छ । तर आजको खेलमा नेपाल पराजित भए सिधै विश्वकप छनोट खेल्ने सम्भावना सकिने छ । 

निकै महत्वपूर्ण खेलमा नेपाल र यूएई मैदानमा उत्रदै छन् ।   

बाँकी खेलहरु–
नेपाल र पीएनजी, सोमबार ।
यूएई र पीएनजी बुधबार ।
नेपाल र यूएई बिहीबार ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ